Ad image

दाङ दुर्घटनाका मृतक दुई युवाका परिवारलाई जनही १६ लाख क्षतिपूर्ति दिने सहमति

मालश्री खवर
मालश्री खवर १० फाल्गुन २०८०, बिहीबार
2 Min Read
Aa

मालश्री खबर, फागुन १० गते रोल्पा । सेतोपाटी साभार

दाङको घोराहीमा सवारी दुर्घटनामा मृत्यु भएका रोल्पाका दुई युवाका परिवालाई क्षति पूर्ति बापत जनही १६ लाख रुपैयाँ दिने सहमति भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा पीडित पक्ष, गाउँपालिकाका पदाधिकारी र प्रहरी प्रशासनका बीचमा बिहीबार त्यस्तो सहमति भएको हो ।

जनही १५ लाख क्षतिपूर्ति बापत र थप एक÷एक लाख किरिया खर्चबापत उपलब्ध गराउने सहमति भएको मृतकका आफन्तले सेतोपाटीलाई बताए । त्रिवेणी गाउँपालिका कार्यालयले पीडित पक्षलाई रकम उपलब्ध गराउने सहमति भएको हो ।

- Advertisement -
Ad image

सहमति अनुसार मृतक दुबै परिवारका सम्पूर्ण सदस्यको पालिकाले आजीवन जीवन बीमा गराइदिने, मृतकका बालबच्चालाई उच्च शिक्षासम्म अध्यापन गर्न लाग्ने खर्च व्यहोर्ने, मृतकमध्ये नेत्र भण्डारीकी श्रीमतीलाई पालिकामा क्षमता अनुसारको रोजगारी दिने र अर्का मृतक विवेक (बालकृष्ण) पुन अविवाहित रहेको हुँदा उनकी एक दिदी र बहिनीलाई पनि गाउँपालिकामा रोजगारी दिने सहमति भएको छ ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले पनि सहमतिपछि पीडित पक्षले शव बुझ्न राजी भएको बताए ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले दुई शवको पोष्टमर्टम सुरू भएको पनि आफन्तले जानकारी दिए ।

घोराहीको सर्रामा भएको सवारी दुर्घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका –५ गुँइतीबाङका २४ वर्षीय नेत्र भण्डारी र सोही ठाउँका २१ वर्षीय विवेक पुनको मृत्यु भएको थियो । उनीहरू नाताले दाजुभाइ थिए। भण्डारी रोल्पामा पढाउने शिक्षक थिए भने पुन राप्ती बबई क्याम्पसमा अध्ययनरत विद्यार्थी थिए ।

बुधबार बिहान ६ बजेतिर तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको विवेक पुनले चलाएको रा ५ प ५४५३ नम्बरको मोटरसाइकल घोराहीको सर्रा चोक नजिकै सडकमा पल्टिएको थियो। मोटरसाइकल पल्टिएर सडकमा लडेका दुई जनालाई घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको त्रिवेणी गाउँपालिकाको बा २ झ ३६५२ नम्बरको बोलेरो जिपले ठक्कर दिएको थियो ।

गाउँपालिकाको गाडी चालक त्रिवेणी–२ का २९ वर्षीय निर्मल बुढा प्रहरी नियन्त्रणमा छन् ।

घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array