Ad image

सुन्तला जातका फलफुलमा लाग्ने चाईनिज फल कुहाउने झिंगा

मालश्री खवर
मालश्री खवर २३ माघ २०८०, मंगलवार
7 Min Read
Aa

डिल्ली केसी/ माघ २३ गते रोल्पा ।

यस लेखमा पछिल्लो समय नेपालको सुन्तलाजात फलफुल (विशेष गरी कडाˏ बोक्रा हुने जात जस्तै जुनार,कागती, अमिलो, भोगटे आदि) मा विनाशकारी कीराको रुपमा देखा परेको सुन्तलाजात फलफुलको चाईनिज फल कुहाउँने झिगा (Bactrocera minax) सम्बन्धी कृषक तथा प्राविधिकस्तरमा उठ्ने गरेका प्रश्नहरु र ती प्रश्नहरुको समाधान खोज्ने प्रयास गरिएको छ ।

के हो त सुन्तलाजात फलफुलको चाईनिज फल कुहाउने झिगा (Bac minaxtrocra) भनेको?

चिनबाट उत्पत्ती भएको यो कीरा भुटान, सिक्किम हुदै पुर्वी पहाडि जिल्लाबाट नेपालमा प्रवेश गरेको र सर्वप्रथम वि.स. २०७१ सालमा सिन्धुलीको जुनार बालीमा चाईनीज सिट्रस फ्लाई कीरा भनि नेपालमा यसको पहिचान भएको थियो र हाल देशभरी नै सुन्तलाजात फलफुल बालीमा विनाशकारी रुपमा देखा परेको छ । यो झिंगाले विशेषगरी कडा बोक्रा हुने सुन्तलाजात फलफुल जस्तै जुनार, निवुवा, कागती, भोगटे, अमिलो आदि जातमा बढि असर गर्ने भएतापनि हाल सुन्तलामा समेत यसको असर देखिन थालेको छ ।

- Advertisement -
Ad image

सुन्तलाजात फलफुलमा अन्य धेरै प्रकारका फल कुहाउने झिगाहरु लाग्दछन, यो कीरा चाईनिज फल कुहाउने झिगा नै हो भनी कसरी पहिचान गर्ने त?

सुन्तलाजात फलफुलमा लाग्ने अन्य  फल कुहाउने झिंगाहरुको तुलनामा यस झिंगाको वयस्क अवस्था र वयस्क बन्नु अघिका विभिन्न अवस्थाहरु फुल,लार्भा र प्युपा सापेक्षिक रुपले ठुला आकारका हुन्छन। झिगाको शरिर १२ mm र पखेटा १० mm लम्बाईको हुन्छ। पोथि झिगाको पेटको अन्तिम भागमा चुच्चो परेको लाम्चिलो फुल पार्ने अंग स्पष्ट देख्न सकिन्छ। झट्ट हेर्दा बारुला जस्तै देखिने यो कीरा खैरो र सुन्तले-पहेलो रङको हुन्छ र छातिको मथिल्लो भागमा पहेला तीन धर्काहरु हुन्छन।

के यसको जीवनचक्र अन्य फल कुहाउने झिगासगँ मिल्दोजुल्दो छ त?

अन्य फल कुहाउने झिगाहरु जस्तै यस झिगाको जीवनचक्र पनि चार अवस्थाहरुमा पुरा हुन्छ । यस कीराको जीवनचक्र पुरा हुन करिव १ वर्ष समय लाग्दछ जव की अन्य फल कुहाउने झिगाहरुले १ वर्षमा कम्तिमा ५-८ पटक सम्म जीवनचक्र पुरा गर्दछन ।

फुल अवस्थाका विशेष्ताहरु?

वैशाख महिना देखि पोथि झिंगाहरु सुन्तलाको बगैंचामा देखा पर्न थाल्छन् र जेठ/असाढ महिना सम्ममा गुच्चा आकारका फलहरुमा आफ्नो फुल पारिसकेका हुन्छन। यिनिहरुले फलको बोक्रा छेडेर गुदिमा एक पटकमा ३-४ वटा फुलहरु पार्दछन। पोथी झिंगाले आफ्नो जीवनकाल भरिमा चैत्र देखी साउन महिनाको अवधिमा ५०-२०० वटा सम्म फुलहरु पार्न सक्छ। यो कीराको अण्डा अवस्था लगभग ३० दिनको हुन्छ।

लार्भा (‍औंसा) अवस्थाका विशेष्ताहरु?

ति फल भित्र रहेका फुलबाट ३० दिनमा औंसा/लार्भा बनिसक्छन। यि औंसाले फलको बोक्रा भित्रको गुदी खान्छन। १५-१९ मि.मि. लाम्चा छिप्पिएका औंसाहरु क्रिम जस्तै सेता देखिन्छन र टाउको तिर कालो हुन्छ। यो कीराको लार्भा अवस्था लग्भग ६०  दिनको हुन्छ।

प्युपा/अचल अवस्थाका विशेष्ताहरु?

लगभग ६० दिन सम्म गुदी खाएर छिप्पिएका औंसा कीराहरु रुखबाट झरेका वा रुखमा भैरहेका संक्रमित फलको बोक्रामा प्वाल पारी बाहिर भुईमा खस्छन र माटो भित्र ४-५ से.मी. मुनि प्युपा/अचल अवस्थामा लगभग १५०-२००दिन (५ देखी ६ महिना) सम्म बस्दछन । खैरा-पहेला रङका प्युपाहरु ८-११ मि.मि लाम्चा हुन्छन।

वयस्क अवस्थाका विशेष्ताहरु?

अचल अवस्थामा बस्न गएका कीराहरु लग्भग ५-६ महिना पछि बैशाखको दोश्रो साता पुनः झिगाको रुपमा बैंचामा देखा पर्न थाल्छन। यो झिंगालाई आफ्नो जीवनचक्र पुरा गर्न प्रोटिनको एकदमै आवश्यक्ता पर्दछ त्यसकारण प्युपा अवस्था पुरा हुने वित्तिकै यो झिंगा प्रोटिनको खोजिमा पात-पात डुल्दै हिड्छ।   अचल अवस्थाबाट वयस्कमा परिणत हुदा ४८ घन्टा सम्म पानी नपाएमा कीराहरु मर्दछन।पोथि झिंगाको अन्तिम पेट खण्डमा चुच्चो परेको लाम्चिलो फुल पार्ने अंग स्पष्ट देखिन्छ् जस्लाई Ovipositor भनिन्छ।

  • सुन्तलाजात फलफुलमा चाईनिज फल कुहाउने झिगाको क्षेतिको लक्षणहरु कसरी चिन्ने त ? (कसरी असर पुर्याउदछ त ?)

यो कीराको लक्षण सुन्तलाजात फलफुलहरु जुनार, कागती, अमिलो, सुन्तला, भोगटे, मुन्तला आदिमा देखिन्छ। यसको पोथी झिंगाले चिचिला अवस्था (गुच्चा जत्रो दाना) को सुन्तलाजात फलफुलको बोक्रामा फुलहरु पार्दछ। फुल पारेको ठाँउको बोक्रा माथि मसिनो कालो धब्बा देखिन्छ। फुलबाट औंसाहरु निस्की गुदी खाईदिन्छन जसले गर्दा फलहरु पहेलिन्छन र झर्दछन। औंसा लागेका फलहरु राम्रो फलको तुलनामा हलुका हुन्छन । झरेका संक्रमित फलबाट छिप्पिएका औंसाहरु फलको बोक्रामा प्वाल पारी निस्किन्छन र माटो मुनी अचल अवस्थामा बस्दछन। संक्रमित फलहरु रुखबाट नझरेको अवस्थामा समेत छिप्पिएका औंसाहरु फलको बोक्रामा प्वाल पारी तल झरी माटो मुनि अचल अवस्थामा जान्छन।

  • यो कीराको व्यवस्थापनका लागि के गर्न सकिन्छ त?

अन्य फल कुहाउने औंसहरुको तुलनामा यसको जीवनचक्र लामो हुने भएकाले यसको व्यवस्थापनको उपायहरु पनि अन्य झिंगाहरु भन्दा अल्लि फरक छ। तथापि निम्न उपाएहरु अपनाएर यसको व्यवस्थापन गर्न सकिन्छ।

  • कीराको संक्रमण भई झरेका फलहरु प्रत्यक हप्ता संकलन गरी १ मिटर गहिरो खाडल खनि गाड्ने वा प्लाष्टिकको थैलोमा राखि औंसाहरु मर्ने गरी नष्ट गर्ने।
  • पोथी झिंगालाई फुल पार्नको लागि प्रोटिनयुक्त खानाको आवश्यक्ता पर्दछ। तसर्थ बैशाख,जेष्ठ,असाढ महिना तिर पोथी झिंगाहरु प्रोटिनको खोजिमा पात-पात खोज्दै हिड्छन। यस बखत प्रोटिन हाईड्रोलाइसेट २५% र कीटनाशक विषादी (एबोमेक्टिन-०.५% वा मालाथियन-२ ml वा क्लोरोपाइरिफोस-०.५ ml) मिसाईएको प्रोटिन चारा प्रति लिटरमा २ लिटर पानी मिसाई ३ वटा विरुवा मध्य एउटा बिरुवाको ३०% जति भागमा Spot Application को रुपमा पातको तल्लो पट्टि १ हप्ताको फरकमा सम्भव भए सम्म १०/१२ पटक सम्म स्प्रे गर्ने।
  • “न्यु ल्युर” नामक तरल हाईड्रोलाइजेट प्रोटिनमा पानी र कीटनाशक विषादी मिसाएर झिगाहरुलाई सामुहिक रुपमा मार्न सकिन्छ। यो पासो तयार गर्न १ लिटर पानीमा ७.५ ml “न्यु ल्युर” र मालाथियन २ ml वा क्लोरोपाईरिफस ०.५ ml मिसाई तयार भएको घोललाई रुखमा छर्कनु पर्दछ।
  • यसरी अन्य तरिकाबाट समाधान नभएमा वयस्क झिंगाले फुल पार्ने समय (बैशाख,जेष्ठ, असाढ महिना) मा फलको आकार गुच्चा जत्रो हुदा दैंहिक विषादी जस्तैः डाइमिथोयट ३० EC प्रति लिटर पानीमा १.५ ml वा ईमिडाक्लोरोपिड १७.८ SL प्रति ४ लिटर पानीमा १ ml मिसाई उक्त घोललाई १५-१५ दिनको अन्तरालमा २/३ पटक छर्ने ।

लेखक सुनिलस्मृति गाउँपालिका रोल्पाको कृषि विकास शाखा प्रमुखका रुपमा कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

Array