खुंग्रीका कृषक समूहले चाडपर्वको लागि तयार पारे दुना, टपरी

मालश्री खबर
मालश्री खबर १ कार्तिक २०८०, बुधबार
3 Min Read
Aa

भरत विश्वकर्मा, कार्तिक १ गते रोल्पा ।

स्ट्रोम फाउण्डेशनको आर्थिक सहयोग तथा सहयोगी हातहरूको समूह (सहास) नेपालद्वारा सञ्चालित “दिगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तीकरण ( सिड्स) कार्यक्रम” र सुनिलस्मृति गाउँपालिका वडा नम्बर २ खुंग्रीको समन्वयमा आधुनिक मेसिनको प्रयोगबाट त्यस क्षेत्रका कृषक समुहका महिलाहरूले दशै तिहार लगाएतका चाडपर्वमा अत्याधिक प्रयोग हुने दुना, टपरी लगाएतका सामाग्री तयार पारेका छन् ।

२५ जनाको समूह रहेको सक्षम कृषक स्वावलम्बन समूहले दशैँ , तिहारको लागि आवश्यक पर्ने दुना, टपरी तयार पारेका हुन । उक्त सामाग्री तत्कालै बजारको लागि तयार भैसकेको उक्त समूहले जानकारी दिएको छ ।

वर्तमान समयमा दसै तिहार जस्ता चाडपर्वमा घरायसी प्रयोजनका लागि आवश्यक पर्ने अधिकांश सामाग्रीहरू बजारकै प्रयोग गर्ने चलनलाई कम गरी स्थानीय उत्पादनको प्रयोगमा वृद्धि गर्ने उदेश्यको साथ वडा कार्यालयले आधुनिक मेसिन खरिद गरि उक्त समूहलाई तयार पार्न अनुरोध गरेको सुनिलस्मृति गाउँपालिका २ का वडा अध्यक्ष नेत्र बहादुर गिरीले बताउनुभयो । महिला समूहले तयार पारेको दुना, टपरीको बजारीकरणमा समस्या भएमा वडा कार्यालयले विभिन्न निकायको समन्वयमा बजारीकरण गरिदिने उहाँले बताउनुभयो ।

स्थानीय स्रोत साधनको प्रयोग गरेर स्थानीय वस्तुहरू उत्पादन गर्दा यहाँको किसानहरूलाई पनि आयआर्जनको बाटो पनि हुने, बजारमा पाइने सामाग्रीको प्रयोगले वातावरणमा असर गर्ने तर घरेलु उत्पादनले त्यसमा कुनै पनि असर नपार्ने नभएकोले यसको उत्पादनमा सहजीकरण गरेको सहयोगी हातहरूको समूह (सहास) नेपाल रोल्पाका जिल्ला परियोजना संयोजक सरोज पन्थीले जानकारी दिनुभयो । विभिन्न बस्तुहरुकोे उत्पादनमा कृषक समूह सक्रिय भएकोले वडा कार्यालय र सहास नेपाल बिचको समन्वयमा उक्त कृषक समूहले विभिन्न बस्तुहरुको उत्पादन गरिरहेको उहाँ बताउनु हुन्छ ।

२५ जनाको समूहले आधुनिक मेसिनको प्रयोगबाट तयार पारेको दुना टपरी दशै तिहार, लगाएतका पर्वमा बढी उपयोग गर्न सकिन्छ । तर पछिल्लो समय छिटोछरितोको लागि मानिसहरूले बजारमा पाइने विभिन्न प्रकारका प्लाष्टिकका प्लेटहरूको उपयोग बढी गर्न थालेका छन् । यस्ता प्लाष्टिकबाट बनेका सामाग्रीले वातावरणमा नराम्रो प्रभाव पार्ने गर्दछ ।

बजारमा पाइने यस्ता खालका प्लाष्टिकका सामाग्रीलाई स्थानीय तहले प्रयोगमा प्रतिबन्ध गरी घरेलु उत्पादनको बजारीकरणमा सहयोग गरिदिन समूहकी अध्यक्ष कृष्णा बुढाथोकीले आग्रह गर्नुभयो । यहाँको उत्पादले बजारीकरण गरि उद्यमी बन्नु भन्दा बजारको उत्पादको प्रयोग गर्ने बानी पर्नुले चाडपर्वमा धेरै खर्च हुने गरेको उहाँ बताउनु हुन्छ । बजारमा पाइने प्लाष्टिक जन्य पदार्थको उपभोगमा प्रतिबन्ध गरी स्थानीय उत्पादनमा बृद्धि गर्नुपर्ने उहाँको धारणा रहेको छ ।

चाडपर्व तथा पुजापाठको लागि आवश्यक पर्ने दुना, टपरी बनाउनको लागि विशेषगरी साल, चिउरी लगाएतको पातको प्रयोग गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्