Ad image

चाडपर्वलाई मध्यनजर गर्दै  लिबाङ बजारको अनुगमन

मालश्री खबर
मालश्री खबर १ कार्तिक २०८०, बुधबार
3 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर / मालश्री खबर, कार्तिक १ रोल्पा ।      

बुधबार लिबाङ बजार अनुगमन गरिएको छ । नेपालीहरुको महान चाड वडा दशै, तिहार र छठ पर्वलाई मध्यनजर गर्दै लिबाङ बजार अनुगमन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय रोल्पा, घरेलु तथा साना उद्योग कार्यालय रोल्पा र भेटेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र रोल्पाको आयोजनामा लिबाङ बजारमा सञ्चालन हुँदै आएका मासु पसल, होटल, किराना पसल, र डेरी पसलको अनुगमन गरिएको हो ।

- Advertisement -
Ad image

अनुगमन गर्दा मुल्य सूची, सरसफाई, दर्ता गरिएको छ कि छैन, खाद्यान्न तथा पिय पदार्थको म्याद छ कि छैन भनेर होटल र किराना पसलमा अनुगमन गरिएको छ ।

त्यस्तै डेरी उद्योग र मासु पसलमा पनि अनुगमन गर्दा मासु काट्ने स्थान र राख्ने ठाउँमा सरसफाइ नभएको पाइएको छ ।

४/५ वटा मासु पसलमा सरसफाइको न्यूनतम सुधार नगरेमा पसल बन्द गर्ने चेतावनी दिएको समेत भेटेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र रोल्पाका प्रमुख डाक्टर शंकर न्यौपानेले जानकारी दिनु भएको छ । हामीले अनुगमन गर्दा मासु, आन्द्रा, कलेजो र खुट्टा लगायत एकै ठाउँमा राखेको पायौं–उहाँले भन्नुभयो ।

मासु काट्दा प्रयोग हुने औजार र अचानो पनि सरसफाइ नभएको र फ्रीजमा पनि लाइन गएको बेला सोलार, इन्भटरको व्यवस्था समेत नभएको हामीले पाएका छौँ–न्यौपानेले भन्नु भयो । केही सल्लाह सुझाव दिएको र अर्को पटक पनि सुधार नभएमा कार्वाही गरिने उहाले बताउनु भएको छ ।

जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रमुख परमानन्द घिमिरेको संयोजकत्वमा भएको बजार अनुगमनमा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक श्याम कुमार सारु मगर, शस्त्र प्रहरी रोल्पाका प्रहरी नायब उपरीक्षक विष्णु दत्त अवस्थी, घरेलु तथा साना उद्योग कार्यालय रोल्पाका प्रमुख तारा प्रसाद शर्मा, भेटेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र रोल्पाका कार्यालय प्रमुख डाक्टर शंकर न्यौपाने, जिल्ला प्रशासन कार्यालय रोल्पाका नायब सुब्बा अम्मर केसी, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नवीन लोचन मगर लगायत प्रहरीको टोली, घरेलु तथा साना उद्योग कार्यालय रोल्पाका कर्मचारी, भेटेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र रोल्पाका कर्मचारी र विभिन्न मिडियामा आवद्ध पत्रकारको सहभागितामा बजार अनुगमन गरिएको थियो ।

अनुगमन टोलीले १७ वटा होटल र १० वटा किराना पसलको अनुगमन गरेको हो । १ वटा ५ केजी आटा म्याद नाघेको फेला पारेको र कोक १ बोटल फेला पारी जफत गरी नष्ट गरिएको बताइएको छ । २ वटा डेरी पसल र १९ वटा मासु पसलको समेत अनुगमन गरिएको छ ।

दशै, तिहार तथा छठ पर्वलाई लक्षित गरि आम नागरिकको स्वास्थ्यलाई मध्यनजर राख्दै खाद्यान्न तथा पेय पदार्थको गुणस्तरीय र कालो बजारीलाई नियन्त्रण गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय रोल्पा, घरेलु तथा साना उद्योग कार्यालय रोल्पा र भेटेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र रोल्पाले निरन्तर बजार अनुगमन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array