Ad image

मुख्यमन्त्री आर्थिक विकास कार्यक्रमले लुम्बिनी प्रदेशमा २ वर्षमा २ लाख नागरिकलाई स्वरोजगार बनाउदै

मालश्री खबर
मालश्री खबर १५ आश्विन २०८०, सोमबार
4 Min Read
Aa

भरत विश्वकर्मा, असोज १५ गते सुलिचौर रोल्पा ।।

मुख्यमन्त्री आर्थिक विकास कार्यक्रमको सुरुवात गर्नकोे लागि प्रारम्भिक अध्ययनको लुम्बिनी प्रदेश सरकारले प्रदेशको १२ वटै जिल्लामा टोली पठाएको छ । रोल्पा र रुकुम जिल्लामा कार्यक्रमको प्रारम्भिक अध्ययनको लागि लुम्बिनी प्रदेश सरकारका योजना आयोगका सदस्य डा.सुदन कुमार ओलीको संयोजकत्वमा खटाइएको टोलीले आज (सोमवार) सुनिलस्मृति गाउँपालिकाको कार्यालय सुलिचौरमा कृषि उद्यमी तथा व्यावसायीहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

 

- Advertisement -
Ad image

उक्त कार्यक्रममा सुनिलस्मृति गाउँपालिकाका विभिन्न क्षेत्रमा कृषि पेशामा आबद्ध, उद्यमी, व्यावसायीहरूको सहभागीता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले सुनिलस्मृति गाउँपालिकामा कृषि क्षेत्रमा बढी उत्पादन भएपनि उपयुक्त बजार, कृषकलाई बजारको लागि बिचौलियाको समस्या, भण्डारणको व्यवस्था नहुनु लगाएतका गुनासो राखेको थिए । सुनिलस्मृति गाउँपालिकाको प्राय क्षेत्रमा तरकारी, पशुपालन, माहुरी पालन, टिमुर लगाएतका खेती गरेको पाइएको थियो भने गाउँपालिकाको वडा नम्बर ६ र ७ मा सुन्तला खेती, वडा नम्बर २ मा आँप, माहुरी पालन, वडा नम्बर ८ मा अदुवा खेतीको सम्भावना अत्यन्त रहेको पाइएको छ । साथै यस क्षेत्रमा पर्यटन व्यवसायको पनि अति सम्भावना रहेको पाइएको छ ।

लुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री आर्थिक विकास कार्यक्रमको रूपमा कृषि, उद्योग, वन, पर्यटन, लगाएतको क्षेत्रमा उत्पादन बढाई दुई वर्षमा दुई लाख जनालाई रोजगारीको अवसर सिर्जना गर्ने उदेश्यले विनियोजन गरेको ५ अर्ब रुपैयाँको सही तरीकाले कार्यान्वयनको लागि स्थानीय उद्यमी, व्यवसायीसँगको अन्तरक्रिया गरी कृषि उत्पादनको लागि उपयुक्त तरिकाले योजना बनाउन लुम्बिनी प्रदेश सरकारले प्रदेशको १२ वटै जिल्लामा प्रतिनिधि खटाएको लुम्बिनी प्रदेश योजना आयोगका सदस्य डा.सुदन कुमार ओलीले जानकारी दिनुभयो । उद्यमी तथा व्यवसायीहरूको गुनासो तथा सुझावको आधारमा प्रदेशले कामको थालनी गर्ने उहाँले बताउनुभयो ।

रोल्पा जिल्लामा कुन क्षेत्रमा बढी रोजगारी सिर्जना गर्न सकिन्छ, त्यसको प्रारम्भिक अध्ययनको लागि व्यवसायीसँगको अन्तरक्रियाको लागि आएको लुम्बिनी प्रदेश सरकारका अर्थ मन्त्रालयका उपसचिव सुरेन्द्र पाण्डेले बताउनुभयो । लुम्बिनी प्रदेशमै रोजगारीको अवसर सृजना गरी समृद्धि लुम्बिनी बनाउनको लागि मुख्यमन्त्री आर्थिक विकास कार्यक्रमको सुरुवात गरिएको बताउनुभयो । स्थानीयको लागि रोजगारीको अवसर सृजना गर्न आवश्यकताको क्षेत्रको पहिचान गरी कृषकलाई आवश्यक पर्ने प्रविधि हस्तान्तर, उपयुक्त तालिम लगाएतको व्यवस्था गरी रोजगारको अवसर प्रदान गर्ने उदेश्यले लुम्बिनी प्रदेश सरकार लागिरहेको उहाँले बताउनुभएको थियो ।

कुन क्षेत्रमा के सम्भावना छ त्यसको खोजी गर्न लुम्बिनी प्रदेश सरकारले अभियानको सुरुवात गरेको लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्रालयका उपसचिव संदेश धिताल बताउनुभयो । कृषकबाट गुनासो सुनेर काम गर्दा सम्बन्धित क्षेत्रका व्यक्तिको लागि पनि उपयुक्त रहने बताउदै आवश्यकताको आधारमा प्रदेशले योजनालाई अगाडी बढाउने बताउनुभयो । कुनै पनि क्षेत्रमा भएको उत्पादनले त्यस क्षेत्रमा थप रोजगार सिर्जना गर्न सक्ने अवस्था भएमा मात्र त्यस क्षेत्रमा थप आवश्यक बजेट, तालिम, प्राविधिक जनशक्तिको व्यवस्थापन गर्न सकिने उहाँले बताउनुभयो । स्थानीय उत्पादनलाई पकेट क्षेत्रको रूपमा विकास गरेर अगाडी बढाउदा त्यस क्षेत्रमा विकासको लागि थप सहज हुने उहाँले बताउनुभयो ।

गाउँपालिकाले एक घर एक रोजगारी सिर्जन गर्ने उपदेश्यले नीति तथा कार्यक्रम लिएपनि बजेटको अभावको कारण यस्तो खालको नीति तथा कार्यक्रम सम्भव नभएको सुनिलस्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीले बताउनुभएको थियो । गाउँपालिकामा असाध्यै सम्भावना भएतापनि बजेटकै अभावको कारण धेरै काम गर्न नसकिरहेको उहाँले बताउनुभएको थियो ।

कार्यक्रममा बोल्दै सुनिलस्मृति गाउँपालिकाका उपाध्यक्ष मिना थापाले लुम्बिनी प्रदेश सरकारद्वारा सञ्चालन हुन लागेको मुख्यमन्त्री आर्थिक विकास कार्यक्रमले गाउँपालिकाको आर्थिक विकासमा सहयोग पुग्ने अपेक्षा गर्नुभएको छ । व्यक्तिलाई कृषिमा आत्मनिर्भर बनाउनको लागि सामुहिक खेती प्रणालीलाई जोड दिनुपर्ने कुरा व्यक्त गर्नुभएको थियो ।

अन्तरक्रिया कार्यक्रममा सुनिलस्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकी, उपाध्यक्ष मिना थापा, लुम्बिनी प्रदेश सरकारका प्रदेश योजना आयोगका सदस्य डा.सुदन कुमार ओली, लुम्बिनी प्रदेश अर्थ मन्त्रालयका उपसचिव सुरेन्द्र पाण्डे, लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्रालयका उपसचिव संदेश धिताल, सुनिलस्मृति गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मतिम आलम, रेडियो मालश्रीका पत्रकार भरत विश्वकर्मा, स्थानीय उद्यमी तथा व्यवसायी, गाउँपालिकाका अन्य कर्मचारी लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array