Ad image

रोल्पाका स्थानिय तहमा स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समिक्षा सञ्चालनः माडी र त्रिवेणीमा सम्पन्न

मालश्री खबर
मालश्री खबर ९ भाद्र २०८०, शनिबार
3 Min Read
Aa

मालश्री खबर, भाद्र ९ गते रोल्पा ।

जिल्लामा स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समिक्षा कार्यक्रम सञ्चालन भइएरहेकोे छ । रोल्पा जिल्लाका स्थानिय तहहरुमा आर्थिक वर्ष ७९÷८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समिक्षा कार्यक्रम सुरुवात भएको हो ।

आर्थिक वर्ष २०८०÷८१ को श्रावण देखि जिल्लाका सबै स्थानिय तहका वडा स्थित सबै स्वास्थ्य संस्थाहरुले वडामा संचालित विभिन्न स्वास्थ्य कार्यक्रमहरुको वडा स्तरिय वार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरिसकेका छन् । वडा स्तरमा वार्षिक समिक्षा कार्यक्रम सके पश्चात पालिका स्तरिय वार्षिक समिक्षा कार्यक्रम संचालन हुने बताइएको छ ।

भाद्र महिना भित्रमा सबै पालिकाहरुले पालिका स्तरिय वार्षिक समिक्षा कार्यक्रम सम्पन्न गर्नको लागि मिति तय गरेको स्वास्थ्य कार्यालय रोल्पाका तथ्यांक शाखा प्रमुख अरुण भिटु उपाध्यायले मालश्री खबरलाई जानकारी गराउनुभएको छ ।

- Advertisement -
Ad image

माडी गाउँपालिका र त्रिवेणी गाउँपालिकाका सबै वडामा वार्षिक समिक्षा कार्यक्रम भएको पालिकाले जनाएको छ । उपाध्यायका अनुसार माडी गाँउपालिकाले श्रावणको ३० र ३१ गते आफ्नो वार्षिक समिक्षा कार्यक्रम गरिसकेको छ । त्यस्तै भाद्र ८ गते शुक्रबारे त्रिवेणी गाँउपालिकाले पनि आफ्नो पालिका स्तरिय समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

त्रिवेणी गाँउपालिकाका अध्यक्ष कर्णबहादुर बाँठामगर, प्रमुख प्रशासकिय अधिकृत, ७ वटै वडाका वडा अध्यक्षहरु, स्वास्थ्य संस्थाहरुको सहभागितामा पालिकामा सम्पादन भएका स्वास्थ्य कार्यक्रमहरुको लक्ष्य अनुसार प्रगति विवरणको समिक्षा, तत्थ्यांक विश्लेषण र चालु आर्थिक वर्षको कार्ययोजना निर्माण गर्नुका साथै अन्य विविध विषयको बारेमा छलफल गरिएको थियो ।

बाल स्वास्थ्य, परिवार स्वास्थ्य, रोग नियन्त्रण, आपुर्ति व्यवस्थापन, सूचना संचार लगाएतका कार्यक्रमहरुको मुख्य–मुख्य सूचकहरुको आधारमा आफु मातहतका स्वास्थ्य संस्थाहरु मध्ये उत्कृष्ट कार्य सम्पादन गर्ने स्वास्थ्य संस्था त्रिवेणी गाउँपालिका वडा नम्बर ५ मा रहेको नेर्पा स्वास्थ्य चौकीका प्रमुख तथा वडा अध्ययक्ष कृष्णबहादुर केसीलाई टिका, खाँदा लगाई सम्मान पत्र प्रदान गरीएको थियो । उक्त कार्यक्रमको संचालन त्रिवेणी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख पुर्णबहादुर बुढाले गर्नु भएको थियो ।

अन्य पालिकाहरु भने वार्षिक समिक्षा गर्न बाँकी रहेका छन् । अन्य पालिकाहरुले पनि भाद्र मसान्त भित्र वार्षिक समिक्षा सम्पन्न गर्ने बताएका छन् । सबै पालिकाको वार्षिक समिक्षा सम्पन भए पश्चात् असोज महिनाको पहिलो साता भित्रनै जिल्ला स्तरिय वार्षिक समिक्षा कार्यक्रम गरिने स्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत बिशाल सुवेदीले बताउनुभयो ।

जिल्ला स्तरीय समिक्षा कार्यक्रममा पालिकाहरुले सम्पादन गरेका स्वास्थ्य कार्यक्रमहरुका मुख्य–मुख्य सूचकहरुको साथै कार्य सम्पादनका आधारमा उत्कृष्ट पालिका घोषणा गर्ने योजना रहेको सुवेदीले बताउनु भयो । स्वास्थ्य निर्देशनालय लुम्बिनि प्रदेशबाट आएको सूचना अनुसार असोज महिना भित्रनै प्रदेश स्तरीय वार्षिक समिक्षा हुने बताइएको छ । सुवेदीका अनुसार कार्यक्रममा उत्कृष्ट कार्य सम्पादन गर्ने जिल्लाहरुलाई रेङ्किङ गरीने छ । स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समिक्षा प्रत्येक वर्ष हुँदै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array