Ad image

सुरक्षित आप्रवासन सम्बन्धी संचारकर्मीसँग अन्तरकृया कार्यक्रम रोल्पामा

मालश्री खबर
मालश्री खबर ७ असार २०८०, बिहीबार
7 Min Read
Aa

उमा बस्नेत
मालश्री खबर, असार ७ गते

सुरक्षित आप्रवासन प्रकृया तथा वैदेशिक रोजगर सम्वन्धि रोल्पा जिल्लाका संचारकर्मीहरुसँग अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार सुरक्षित आप्रवासन (सामी) को आयोजनामा सदमुकाम लिवाङमा कार्यक्रम भएको छ । वैदेशिक रोजगारलाई थप सुरक्षित, व्यवस्थित, मर्यादित बनाउनको लागि के कस्तो भूमिका निर्वाह गर्न सकिन्छ, भनी सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरीएको आयोजकले बताएको छ ।

 

अन्तरक्रिया कार्यक्रममा वैदेशिक रोजगार वोर्ड, सुरक्षित आप्रवासनले दिने सेवा र आर्थिक वर्ष २०७९÷८० मा रोल्पा जिल्लामा सामीले गरेको कार्यको वार्षिक प्रगती विवरण प्रस्तुत गरीएको थियो । सूचनामा पहुँच, न्यायमा पहुँच, सीप विकास तालिम, मनोसामाजिक परामर्श, वित्तीय साक्षरता सम्बन्धि कार्यक्रमहरु सामीले सञ्चालन गर्दै आएको छ ।

- Advertisement -
Ad image

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम रोल्पाका संयोजक शरद पोख्रेलले आर्थिक वर्ष २०७९÷८० मा रोल्पा जिल्लामा सामीले गरेको कार्यको वार्षिक प्रगती विवरण प्रस्तुत गर्नु भएको थियो । प्रगती विवरण प्रतुत गर्दै पोख्रेलले रोल्पा जिल्लाका १० वटै स्थानीय तहमा आप्रवासी स्रोत केन्द्रबाट व्यक्तिगत तथा सामुहिक सूचना तथा परामर्श सेवा जम्मा ६ हजार ९ सय ६३ जनालाई दिएको जानकारी दिनुभयो । ती मध्ये फोनको माध्यमबाट फलोअप गरिएको संख्या ९ सय ८५ रहेको छ । फोनको माध्यमबाट फलोअप गरीएका मध्ये वैदेशिक रोजगारीमा गएकाको संख्या ९७ रहेको छ । सीप तथा तालिमको लागि १० जनाले सिफरिस लिएका छन् । महत्वपूर्ण कागजात वा पासवर्ड घरमा छोडेकाको संख्या ७९ जना रहेको छ, भने वैदेशिक रोजगारीमा नगएर नेपालमा नै काम गर्न शुरु गरेको संख्या ६१ जना रहेको पाईएको छ । त्यस्तै परामर्श सेवा पश्चात् वैदेशिक रोजगारीमा नजाने निर्णय गरेको संख्या ५७ जना रहेको छ ।

सामीको निःशुल्क कानुनी सहायता सेवा अन्तर्गत आर्थिक वर्ष २०७९÷८० मा जिल्लाका १० वटै स्थानिय तहबाट आप्रवासी स्रोत केन्द्र रोल्पामा ३९ वटा समस्याहरु दर्ता भएका छन् । ती मध्ये २३ वटा समस्याको समाधान भईसकेका छन् भने समाधान हुने प्रकृयामा रहेको समस्याहरु १६ वटा रहेका छन् । त्यस्तै यो आर्थिक वर्षमा सुरक्षित आप्रवासनले जिल्लाका सबै स्थानिय तहलाई १ करोड २ लाख ७३ हजार आर्थिक सहायत प्रदान गरेको छ ।

मनोसामाजिक परामर्श कार्यक्रम अन्तर्गत सामीले २ सय ५६ जना मनोसामाजिक परामर्श दिनुपर्ने भेटिएका थिए । जसमध्ये १६० जनालाई मनोसामाजिक परामर्श दिई समस्या समाधान गरीसकिएको छ । ७७ वटा समस्याको समाधान गर्ने प्रकृयामा रहेको छ भने मृत्यु भई, मनोसामाजिक परामर्शलाई अस्वीकार गर्ने र बसाईसराईले गर्दा सेवा पुरा नभएको संख्या भने १९ रहेको छ ।

आत्महत्याको प्रयास गर्ने २ जाना, डिप्रेशन भएका १८ जना, पिर चिन्ता भएका २ सय ५ जना, आघत भएका १७ जना र अन्य १४ जना गरी जम्मा २ सय ५६ जनालाई मनोसामाजिक परामर्श सेवा दिएको छ ।

सामीले प्रवाह गर्ने सेवा मध्ये अर्को सेवा वित्तीय साक्षरता कार्यक्रम पनि हो । यस कार्यक्रमबाट जिल्लाका रोल्पा नगरपालिका, सुनिलस्मृति, रुन्टीगढी र परिवर्तन गाउँपालिकाका जम्मा ८ सय १५ जनाको व्यवहार परिवर्तन भएकोे छ । जसमा आम्दानी र खर्चको हिसावकिताव राख्न थालेकाको संख्या २ सय ९१ पुगेको छ । नयाँ व्यवसाय शुरु गरेको ७१ जना रहेका छन् भने व्यवसाय प्रवर्धन गरेका १ सय १३ जना रहेका छन् । वित्तीय साक्षरता कार्यक्रमबाट २ सय २० जनाले वचतमा बृद्धि गरेका छन् । साथै बैंक तथा वित्तीय संस्थामा पहुँच १ सय ४५ जनामा पुगेको छ ।

अन्तरक्रिया कार्यक्रममा आप्रवासन प्रकृया, अभिलेखवद्व र अलेखवद्व कामदार, आप्रवासनका चरणहरु, बैदेशिक रोजगारका सेवामा सम्बद्व सरोकारवाला निकायहरुको भूमिका, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी, वैदेशिक रोजगार विभागले दिने सेवाहरु, वैदेशिक रोजगारी एप्लिकेशन, श्रम स्वीकृती जाँच गर्ने तरीका, वैदेशिक रोजगारीको क्रममा मृत्यु भएमा वा अङ्ग भङ्ग भएमा आर्थिक सहायता दिने निकायहरु, वैदेशिक रोजगार वोर्डबाट कल्याणकारी कोष अन्तर्गत प्रदान गरिने सहायता, वैदेशिक रोजगार वोर्डबाट कल्याणकारी कोष अन्तर्गत प्रदान गरिने सहायताको लागि स्थानीय तहबाट निवेदन दिँदा ध्यान दिनु पर्ने कुराहरु, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगारिको क्रममा मृत्यु भएका कामदारका परिवारले नेपालको बीमाबाट पाउने बीमाको रकम, टेलि मेडिसन सेवा, स्थानीय तहबाट श्रम स्वीकृतिको प्रकृया, सुरक्षित वैदेशिक रोजगार सम्बन्धी आधिकारिक जानकारीका लागि श्रम कल सेन्टर, श्रम स्वीकृतिका लागि आवश्यक न्यूनतम कागजात लगाएतको बारेमा वैदेशिक रोजगार बोर्ड/सामी कार्यक्रमका कार्यक्रम अधिकृत बिष्णु अर्यालले प्रस्तुती गर्नु भएको थियो ।

वैदेशिक रोजगारीको क्रममा मृत्यु भएमा वा अङ्ग भङ्ग भएमा अर्थिक सहायता दिने निकायहरुमा सरकारी निकाय अन्तर्गत वैदेशिक राजगार वोर्ड र सामाजिक सुरक्षा कोष रहेका छन् भने रोजगारदाता कम्पनी, बीमा कम्पनी अन्तर्गत स्वादेशका बीमा कम्पनी र गन्तव्य मुलुकका बीमा कम्पनीले आर्थिक सहायता प्रदान गर्ने अर्यालले बताउनु भयो ।

वैदेशिक रोजगार बोर्डबाट कल्याणकारी कोष अन्तर्गत प्रदान गरिने सहायताहरुमा मृतक कामदारका परिवारलाई आर्थिक सहयता अन्तर्गत शव ल्याएको १ वर्ष भित्रमा ७ लाख, अंगभंग भएका कामदारलाई आर्थिक सहायता तथा क्षति पूर्ति नेपाल फर्केको ९ बर्ष भित्रमा अधिकतम आर्थिक सहायता तथा क्षतिपुर्ति रकम ७ लाख, विरामी कामदारलाई उपचार खर्च वापत नेपाल फर्केको ९ बर्ष भित्रमा अधिकतम आर्र्थिक सहायता तथा क्षतिपुर्ति रकम ७ लाख, कामदारका परिवारलाई उपचार खर्च वापत उपचार गराएको १ बर्ष भित्रमा अधिकतम ५० हजार रुपैँया, मृतक कामदारको विदेशबाट आएको शव घर सम्म निःशुल्क पु¥याउने गरेको, मृतक तथा पुर्ण अशक्त कामदारका छोराछोरीलाई आधारभूत तहसम्म वार्षिक ८ हजार र माध्यमिक तहसम्म वार्षिक १२ हजार छात्रवृत्ति प्रदान गर्ने अर्यालले जानकारी दिनुभयो ।

वैदेशिक रोजगारका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आवेदन गर्ने कार्य २०८० वैशाख १ गते बाट ७५३ वटै स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्र मार्फत सेवा सञ्चालनमा रहेको पनि अर्यालले बताउनु भयो ।

प्रस्तुतिकै क्रममा अर्यालले श्रम स्वीकृति जारी भएको छ कि छैन भन्ने कुरा मोवाईबाट तुरुन्त थाहा पाउन सकिने बताउनु भएको थियो । त्यसको लािग मोबाईलको एस.एम.एस. बक्समा गरी क्यापिटल अक्षरमा पिपि (PP) टाईप गरी एक स्पेस दिई राहदानी नम्बर टाईप गरी ३४००१ मा पठाउँदा श्रम स्वीकृति भएको भएमा काम/ पद, काम गर्ने कम्पनी, जान लागेको देश, श्रम स्वीकृति जारी भएको मिति, तलब, लागत खर्च र म्यानपावर कम्पनीको बारेमा सजिलै थाहा पाउन सकिने छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष नविन लोचन मगरले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सुरक्षित र भरपर्दो बनाउनको लािग सम्पुर्ण पत्रकारहरुले आ–आफ्नो ठाउँबाट सधै साथ र सहयोग गर्ने बताउनु भएको थियो ।

विकास सरोकार समाज डिकोस रोल्पका अध्यक्ष देबहादुर वलीको अध्यक्षतामा सुरुवात भएको कार्यक्रमको सञ्चालन सुरक्षित आप्रवासन (सामी) कार्यक्रम रोल्पाका संयोजक शरद पोख्रेलले गर्नुभएको थियो । कार्यक्रममा जिल्लामा क्रियाशिल विभिन्न पत्रपत्रिका र सञ्चारमाध्यममा आवद्व पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array