Ad image

परिवर्तन गाउँपालिकामा भूमे नाच सुरु

मालश्री खबर
मालश्री खबर २ असार २०८०, शनिबार
4 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर
मालश्री खबर, असार २ रोल्पा ।

भूमिलाई पुजा गरेर मनाईने मगर समुदायको दोस्रो ठूलो चाड भूम्या हो । प्राकृतिक विपत्ति नआओस् भनेर मगर समुदायमा हरेक असार १ गतेदेखि भूम्या पर्व मनाउने प्रचलन छ ।

सोही अवसरमा परिवर्तन गाउँपालिका–१ कुरेलीमा शुक्रबार देखि सुरु भएको हो । युनिटी युवा क्लब परिवर्तन गाउँपालिका–१ कुरेली रोल्पाको पह्लमा र भूमे संरक्षण समिति परिवर्तन गाउँपालिका–१ कुरेलीको आयोजना हिजो देखि ३ गतेसम्म भूमे नाच कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

- Advertisement -
Ad image

“संस्कार संस्कृति र खेलकुद राष्ट्रको सान, विविधतायुक्त समाज र भाषा हाम्रो पहिचान” भन्ने मुल नाराको साथ सुरु भएको भूमे मेलाको अध्यक्षता भूमे संरक्षण समितिका अध्यक्ष बम बहादुर पुनको रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका पूर्व समन्वय प्रमुख तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य र नेकपा माओवादी केन्द्र रोल्पा जिल्ला इन्चार्ज राज बहादुर बुढा मगरको प्रमुख आतिथ्यता तथा परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरको विशिष्ट आतिथ्यतामा भूमे पर्व कार्यक्रमको उद्घाटन भएको हो । भूमे संरक्षण समितिका सदस्य हित कुमारी बुढा मगरको स्वागत मन्तव्यबाट सुरु भएको भूमे उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि विभिन्न भूमे नाच समूह लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन भूमे संरक्षण समितिका सदस्य तेकेन्द्र रोका मगरले गर्नुभएको थियो ।

परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले परिवर्तन गाउँपालिका–१ कुरेली मौलिक कला संस्कृतिको खानी भएको बताउनुभयो । उहाँले परिवर्तन गाउँपालिकाको अन्य वडामा भूमे नाच नभएको र परिवर्तन गाउँपालिका–१ कुरेली मात्र भूमे नाचलाई संरक्षण र प्रवर्द्धन गरिएको समेत बताउनुभयो । भूमेको पुजा गरेर मनाउने र प्राकृतिकमा कुनै पनि मानवीय क्षति नहोस् भनेर पुजा गरि मगर समुदायले मनाउने यो पर्वमा देखाउने कलालाई अबको पुस्तालाई हस्तान्तरण गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो ।

परिवर्तन गाउँपालिका लोपोन्मुख सांस्कृतिक संरक्षण प्रतिष्ठानले केही दिन अगाडि मात्र लोप हुन लागेको कला संस्कृतिहरुलाई संरक्षण गर्नुपर्छ भनेर परिवर्तन गाउँपालिका भित्रका क्रियाशिल राजनीतिक दलहरूसँग बृहत छलफल गरि निष्कर्ष र सहकार्य अगाडि बढेको बताउनुभयो । बिहिबार मात्र बसेको परिवर्तन गाउँपालिका लोपोन्मुख सांस्कृतिक संरक्षण प्रतिष्ठानको बैठकले भूमे कार्यक्रम गर्नका लागि ५० हजार रकम दिने निर्णय गरेको समेत बताउनुभयो । जिल्ला समन्वय समिति रोल्पा पूर्व प्रमुख तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य र नेकपा माओवादी केन्द्र रोल्पाका इन्चार्ज राज बहादुर बुढा मगरले भूमे पर्व कार्यक्रमको उद्घाटन गर्दै मानव सभ्यता सुरु भएसँगै प्राकृतिक पुजक भएकोले मानवले जमिनलाई पुजा गर्दै आएको समेत बताउनुभयो । जुन युग देखि मानव सभ्यताको निर्माण भयो त्यहीँ युग देखि मानव समुदायले प्राकृतिक पुजक अन्तर्गत भूमिलाई पुजाआजा गर्ने विश्वास गर्ने र प्राकृतिक रूपमा आपत्त विपत्त नओस भनी गरिने पुजा भूमे भएको बताउनुभयो ।

भूमे पर्वलाई मगर समुदायले ठूलो पर्वको रूपमा मनाउने भएकोले भूमिको पुजा गरि आफ्नै मौलिक भेष भुषामा सजिएर असार १ गतेदेखि ५ गतेसम्म बाँजागाँजा सहित नाच्ने र रमाइलो गरेर मनाउने गर्ने गरेको बताउनुभयो ।

कालो चोलीमा, रातो थोप्ला भएको कालो गुनियोलाई पटुकीले कसेर लगाएपछि बाहिरबाट मखमलको रातो घलेक अनि पछ्यौराका साथै गहना लगाएर चिटिक्क परेका महिला तथा कालो चोलीमै कालो धर्का हालेको घरबुना धरोलाई पटुकीले कसेर लगाई मखमलकै कालो घलेक लगाएर सजिएका पुरुष दमाह, ट्याम्की, छिल्लर र सहनाईको तालमा लहरै नाच्ने नाच भूमे नाच हो ।

 

प्रतिक्रिया दिनुहोस्

Array