मालश्री खबर, कार्तिक ५ गते रोल्पा ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पाका कार्यालय प्रमुख डाक्टर शंखर न्यौपानेले मासु सेवन गर्दा गोठ देखी ओठ सम्म सफा हुन जरुरी रहेको बताउनु भएको छ ।
रेडियो मालश्रीको ‘मेरो स्वास्थ्य’ कार्यक्रममा पत्रकार गणेश केसी संगको कुराकानीमा डा. न्यौपानेले चाडपर्वको समयमा अरु समयको तुलनामा भन्दा बढी मासुका परिकारहरु बन्ने भएको हुदा स्वास्थ्यलाई ध्यानमा राखि रमाइलो संगै मासु सेवन गर्नु पर्ने बताउनु भएको छ ।
मासुका लागि प्रयोग हुने पशु पन्छी कस्तो ठाउँमा हुर्केको हो, कस्तो खानपिन खाएको छ, स्वास्थ्य अवस्था कस्तो छ, रोग, संक्रमण छ कि छैन, मासु काट्ने ठाउँमा सफा कस्तो छ, कसरी भण्डारण गरिएको छ, राम्ररी पकाएको छ कि छैन लगायतका कुरा लाई विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
चाडपर्वको समयमा मासु अरु समयको तुलनामा बढी खाने गरिन्छ । दशैको समय छ, घर घरमा मासुका परिकारहरु बनिरहेका छन् । खसी, बोका, रागाँ, कुखुरा लगायत पशु पन्छी जन्य मासु खाने गरिन्छ । एकै समयमा धेरै मासु पकाएर लामो समयमा खाएमा संक्रमण हुन सक्ने र नपकाएको मासुलाई सफा र सुरक्षित स्थानमा उचित समयको लागि भण्डारण नगरेको मासु सेवनबाट स्वास्थ्यमा गम्भिर समस्या हुने हुदा सचेत भएर मासु खानु पर्ने बताउनुभयो ।
डाक्टर न्यौपानेले बाटोमा जथाभाबी भाग लगाएको मासु नखान भन्नु भएको छ । मासु सेवन गर्दा पशु पन्छीको जस्तैः फोक्सो, आन्द्रा, कलेजो लगायतका भित्रि अङ्ग संग बाहिरी अङ्ग मिलाएर नखान र मासु पसलमा त्यसरी भण्डारण गर्नु स्वास्थ्यको लागि जोखिम हुने बताउनुभयो । काटेको मासु ३÷४ घण्टामा नै बिग्रन सक्ने भएकोले मासुलाई फ्रिजमा राख्नुपर्ने र यदि फ्रिजमा राख्न नसकेमा १÷२ घण्टा भित्रै पकाएर खानु पर्ने बताउनुभयो ।
काचो मासु खाने गरेको पाइन्छ ? पोलेको मासु खान कतिको उपयुक्त छ, भनि पत्रकार गणेश केसीले सोधेको प्रश्नमा डा. न्यौपानेले काचो मासु खानै नहुने मासुलाई राम्ररी पकाएर खादा स्वास्थ्यलाई पचाउन सहज हुने र काचो मासुमा हुने संक्रमणबाट बच्न सकिने बताउनुभयो । न्यौपानेले पोलेको मासुले मानिसको स्वास्थ्यमा दिर्घकालिन असर गर्ने बताउनु भएको छ । पोलेको मासु मिठो भए पनि राम्ररी पाक्न नसक्ने, मासुमा भएको संक्रमण नष्ट नहुने हुदा पोलेको मासु खानै नहुने बताउनुभयो ।
स्वास्थ्यको दृष्टीले पशुको छाला, खुट्टा, भित्री अङ्ग र पन्छीको हकमा टाउको उपयुक्त नहुने हुदा स्वाथ्यलाई ख्यालमा राखी मासु खान र दशै मनाउन आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्