भरत विश्वकर्मा, कात्तिक २ गते रोल्पा ।
लुङ्ग्री गाउँपालिकाले चाडपर्व लक्षित बजार अनुगमन गरी जफत गरेको म्याद गुज्रिएका अखाद्य वस्तुको नष्ट गरेको छ ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लेपेन्द्र बुढाथोकीको नेतृत्वमा गत असोज २८ गतेदेखि कात्तिक १ गतेसम्म गाउँपालिकाको ७ वटै वडामा अनुगमन गरिएको थियो । उक्त अनुगमनको समयमा १ सय १७ वटा पसलहरूको अनुगमन गर्दा भेटाइएको १ लाख ६६ हजार ४ सय पचासी रुपैयाँ बराबरको अखाद्य वस्तुको नष्ट गरिएको हो ।
बजार अनुगमनको समयमा अधिकांश पसलहरूमा सामानको लेवलिङ नगरेको, व्यावसायहरू दर्ता नगरी सञ्चालन गरेका, सामानमा मूल्य सूचि नराखेको, व्यावसायी दर्ता र नविकरण नगरी व्यवसाय सञ्चालन गरेको पाइएको बताइएको छ ।
लुङ्ग्री गाउँपालिका अध्यक्ष भरत कुमार थापाले बजार अनुगमन कार्यलाई निरन्तरता दिने बताउनु भएको छ । गाउँपालिकाले चाडपर्वलाई लक्षित गर्दै, पालिकाको प्रत्येक वडाहरूमा टोली परिचालन गरी ठुलो परिणाममा अखाद्य वस्तु जफत गरेको बताउदै यस्तो अवस्थालाई न्यूनीकरण गर्नको लागि गाउँपालिकाले अब नियमित रूपमा प्रत्येक महिनामा अनुगमन गरी गुणस्तरीय सामाग्रीको उपभोग गर्ने वातावरण सिर्जना गर्ने बताउनु भएको थियो ।
पालिकाको सबै टोलटोलमा सञ्चालित पसलहरू के ?, कसरी ? सञ्चालन भएका छन्, त्यस क्षेत्रमा पुगेर बजार अनुगमनलाई थप कडा बनाउने, साथै सबै व्यवसायीलाई दर्ताको प्रक्रियामा ल्याइ करको दायरामा ल्याउने गाउँपालिकाको तयारी रहेको उहाँले बताउनु भएको थियो । साथै व्यापारी र उपभोक्ताहरूलाई सामान खरिद गर्दा मूल्यसूची, र त्यसको म्याद हेरेर मात्र सामान खरिद बिक्री गर्न सुझाब समेत दिनुभएको थियो ।
व्यवसायीहरूलाई पसलमा मूल्य सूची र साइनबोर्ड राख्न, व्यवसाय दर्ता र नविकरण गर्न, पाना नं. लिइ व्यवसाय सञ्चालन गर्न, व्यवसायीलाई सामान खरिद गर्दा बिल सहित खरिद गर्न, सिलबन्दी मदिरा जन्य पदार्थलाई दर्ता गरी सञ्चालन गर्न, लेबल भएको सामान मात्र खरिद बिक्री गर्नु हुन साथै उत्पादन र उपभोग्य मिति हेरेर मात्र खरिद तथा बिक्री गर्न, होटेल व्यावसायीहरुलाई सरसफाइमा विशेष ध्यान दिन सुझाब दिएको लुङ्ग्री गाउँपालिका निमित्त प्रमुख प्रमुख प्रशासकीय अधिकृत लेपेन्द्र बुढाथोकीले बताउनु भयो ।
अनुगमनको समयमा भेटिएको अखाद्य बस्तुको नष्ट गाउँपालिकाका अध्यक्ष भरत कुमार थापा, उपाध्यक्ष दिल कुमारी गुरुङ, वडा नम्बर ५ का वडाध्यक्ष रिख बहादुर रोका, निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं अनुगमन अधिकृत लेपेन्द्र बुढाथोकी, प्रहरी चौकी किलाचौरका प्रहरी सहायक निरीक्षक खगेश्वर श्रेष्ठ, रेडियो मालश्रीका पत्रकार भरत विश्वकर्मा, गाउँपालिकाका अन्य विभिन्न शाखामा कार्यरत कर्मचारी, राजनैतिक दलका प्रतिनिधि लगाएतको उपस्थितिमा नष्ट गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्