रोल्पा अस्पतालमा स्तरीय स्वास्थ्य सेवा दिने ब्यवस्था गर्छौ – प्रदेश स्वास्थ्य मन्त्री खनाल

मालश्री खबर
मालश्री खबर २७ आश्विन २०८०, शनिबार
5 Min Read
Aa

गणेश केसी

रोल्पा अस्पताल रेउघा रोल्पामा स्तरीय स्वास्थ्य सेवा दिने गरि ब्यवस्था गर्ने लुम्बनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रतिवद्धता जनाउनु भएको छ । नव निर्मित रोल्पा अस्पतालको भवन र अस्पतालको सेवा प्रवाहको निरिक्षण तथा अनुगमनको क्रममा मन्त्री खनालले उक्त कुरा बताउनु भएको हो ।

रोल्पा अस्पतालमा डक्टरहरुको अभाव भएको सुने पछि आफै अनुगमनमा आउनु भएका स्वास्थ्य मन्त्री खनालले आफैले रोल्पा अस्पतालको अनुगमन गरे पश्चात सेवा ग्राहिहरुले महशुस गर्ने गरि स्तरीय सेवा दिने गरि आफुले काम गर्ने बताउनु भएको छ । अवलोकनका क्रममा रोल्पा अस्पतालले आयोजना गरेको एक औपचारीक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले रोल्पा अस्पतालबाट आधारभूत सेवा दिनका लागि आवश्यक पर्ने जनशक्ति र उपकरणको सुची मन्त्रालयलाई उपलब्ध गराउन समेत आग्रह गर्नु भएको छ ।

करार पदपुर्तिका लागि प्रदेशले नै ब्यवस्था गर्ने ऐनका कारण रोल्पा अस्पताल लगायत प्रदेश भरिका अस्पतालहरुमा थप जनशक्तिको अभाव भएकाले त्यसलाई न्युनिकरण गर्नका लागि सम्बन्धित अस्पतालहरुले नै करार पदपुर्ति गर्ने गरि करार ऐन संशोधन गरेको उहाले जानकारी दिनु भएको छ । मन्त्रालयका कर्मचारीहरुलाई मन्त्री खनालले करार पदपुर्ति स्वयम स्वास्थ्य सस्थाहरुले गर्नका लागि परिपत्र गर्न समेत निर्देशन दिनु भएको छ । यसो हुँदा सम्बन्धित अस्पतालले करारमा डक्टरहरु राख्दा केही जनशक्ति अभाव टर्न सक्ने बताउनु भएको छ ।

बदलिदो परिवेशमा स्वास्थ्य क्षेत्रमा पुरानै भौतिक संरचना, पुरानै दरवन्दि, पुरानै उपकरण र पुरानै प्रकृयाले सेवा दिदा गुणस्तरिय स्वास्थ्य सेवा दिन नसकेको स्विकार्दै मन्त्री खनालले नया भौतिक संरचना, दरवन्दिको पुनरसंरचना गरि डिजिटल प्रविधि र उपकरणको प्रयोग गरि स्वास्थ्य सेवा स्तरीय बनाउन आफुहरु लागि परेको बताउनु भएको छ । लुम्बिनी प्रदेशका पहाडी अस्पतालहरुमा कार्यरत डाक्टरहरुलाई थप प्रोत्साहन रकम दिनका लागि प्रदेशले कार्यविधि बनाइरहेकाले रोल्पा अस्पतालमा हाललाई उपलब्ध जनशक्तिले स्तरीय सेवा दिन समेत आग्रह गर्नु भएको छ ।

स्वास्थ्य सचिव डाक्टर जनार्दन पन्थीले छुटेका संघीय सरकारको दरवन्दि नहराउने भन्दै उहाले भूगोल र जनसंख्यालाई हेरेर दरवन्दिको ब्यवस्था गर्ने बताउनु भएको छ । सचिव पन्थीले रोल्पाली जनताको स्वास्थ्यका लागि लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय प्रतिवद्ध रहेको बताउदै पत्रकारहरुले पनि रोल्पा अस्पतालले दिइरहेको स्वास्थ्य सेवाका बारेमा सकरात्मक समाचार लेख्न आग्रह गर्नु भएको छ ।

रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले रोल्पा अस्पतालमा भएका समस्याहरुको बारेमा जानकारी गराउदै अस्पतालमा न्युनतम स्वास्थ्य सेवा दिनका लागि आवश्यक पर्ने जनशक्ति कति हो, कुन–कुन उपकरण आवश्य पर्छ, यथार्थपरत तत्याङ्क मन्त्रालयलाई उपलब्ध गराउन आग्रह गर्नु भएको छ, यसले गर्दा मन्त्रालयलाई छलफल गर्न सहज हुने उहाको भनाई छ । अस्पतालको प्राङ्गणनेर पहिरोको समस्या समाधानका लागि आफु जिल्लाको विपत ब्यवस्थापन समितिको संयोजकको हिसावले पहल र समन्वय गर्ने भन्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले नव निर्मित भवनमा भएका समस्या, टुट फुट मर्मतका लागि आधिकारीक रुपमा सम्वन्धित निमार्ण ब्यवसायिलाई जानकारी गराउन पनि आग्रह गर्नु भएको छ ।

उहाले तत्काल जनशक्ति अभावलाई टार्नका लागि अध्यनरत विषेशज्ञ डाक्टरहरुको अन्तिम वर्ष अस्पतालहरुमा सेवा गर्दै पढ्न सकिने भएकाले त्यस्ता खालका विषेशज्ञ डाक्टरहरुलाई रोल्पा अस्पतालमा जोड्ने वातावरण बनाउन समेत मन्त्रालय, अस्पताल र जिल्लाका कृयाशिल राजनीतिक दल, जनप्रतिनिधिहरुलाई आग्रह गर्नु भएको छ ।

कार्यक्रमका अध्यक्ष एवं रोल्पा अस्पताल विकाश समितिका अध्यक्ष फविन्द्र आचार्यले अस्पतालको माग पत्र पेश गर्दै प्रहरीले डोल्पा, हुम्ला, जुम्ला जानका लागि पावर लगाय जस्तै डाक्टरहरु पनि दुर्गममा जानका लागि पावर खोज्ने नीतिको ब्यवस्था गर्न आग्रह गर्नु भएको छ ।

अस्पताल विकाश समितिका अध्यक्ष फविन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिमा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाल रहनु भएको थियो । कार्यक्रमको विशिष्ट अतिथिहरुमा संविधान सभा सदस्य, पुर्व राज्यमन्त्री एवं नेपाली काँग्रेस लुम्बिनी प्रदेशका पार्टी सभापति अम्मरसिङ पुन, प्रदेश सभा सदस्य दिपेन्द्र पुन सिजल, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्य, रोल्पा नगरपालिकाका मेयर सुरेन्द्र थापा घर्ती, लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डाक्टर जनार्दन पन्थी, नेपाली काँग्रेस रोल्पाका पार्टी सचिव शेरबहादुर थापा, नेकपा एमाले लम्बिनी प्रदेशका सदस्य घनश्याम आचार्य, स्वास्थ्य कार्यालय रोल्पाका कार्यालय प्रमुख विशाल सुवेदी, रोल्पा अस्पतालका एडिजिपि डाक्टर रणबहादुर बोगटी, नेपाल रेड क्रश सोसाइटी रोल्पाका सभापति डीवी टुहुरो, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नविनलोचनम मगर, रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष केशवकुमार आचार्य लगायतको रहनु भएको थियो ।

रोल्पा अस्पतालमा भएका समस्याहरुको बारेमा जानकारी तथा स्वागत मन्तब्य रोल्पा अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डाक्टर लोकरत्ना ज्ञवालीले राख्नु भएको थियो भने कार्यक्रमको संचालन रोल्पा अस्पतालका चन्द्र जिएमले गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्