रोल्पाको चार स्थानमा चाडपर्वलाई लक्षित गर्दै यात्रु सहायता कक्ष स्थापना

मालश्री खबर
मालश्री खबर २१ आश्विन २०८०, आईतवार
3 Min Read
Aa

मालश्री खबर, असोज २१ गते रोल्पा ।

नजिकिँदै गरेका चाडपर्वहरु दशैँ, तिहार, छठलाई लक्षित गर्दै रोल्पा जिल्लाको चार स्थानमा यात्रु सहायताकक्ष स्थापना गरिएको छ ।

ट्राफिक प्रहरी कार्यालय रोल्पाको सक्रियतामा रोल्पा जिल्लाको चार स्थान लिबाङ, सुलिचौर, घर्तिगाँउ र होलेरी बजारमा नागरिक सहायता कक्षको शुभारम्भ गरिएको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

नागरिक सहायता कक्षको एक कार्यक्रमका बिच रोल्पा जिल्लाका प्रमुख जिल्ला परमानन्द घिमिरेले उद्धघाटन गर्नु भएको हो ।

सो अवसरमा बोल्दै प्रजिअ घिमिरेले सवारी र यात्रुका विभिन्न समस्या तथा गुनासोलाई तत्काल सहायता कक्षले सहयोग गर्ने विश्वास व्यक्त गर्नु भएको छ । सहायता कक्षले आपतविपतमा परेका यात्रुको व्यवस्थापन र यातायातमा अपनाइएको सुरक्षा मापदण्डका विषयमा समेत अनुगमन गर्ने उनले बताउनु भयो । यात्राको क्रममा कुनै पनि समस्या भएका तत्काल नेपाल प्रहरीको १०० नम्बरमा र ससत्र प्रहरीको १११४ मा सम्पर्क गर्न समेत आग्रह गर्नु भएको छ ।

एक जना चालकको हातमा धेरै जनाको जिबन रहने भन्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले जहिले पनि चालकले गाडी चलाउदा धेरै कुमार ध्यान दिएर ड्राइभिङ गर्नु पर्ने सल्लाह दिनु भएको छ ।

प्रजिअ घिमिरेले चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत नै सहायता कक्ष स्थापना भएको भन्दै नागरिकको सुरक्षाका लागि प्रहरी प्रसासन कटिबद्ध रहेको समेत बताउनु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाले दसैँ, तिहारमा हुने यात्रुको चाप, यात्रुमाथि हुन सक्ने अभद्र व्यवहार, यात्रु ठगिने सम्भावना लगायतका कुरालाई मध्यनजर गर्दै यात्रु सहायता कक्षको स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख प्रहरी साहेक निरीक्षक बिक्रम बिकले बताउनु भएको छ ।

‘विजयादशमी, दिपावली तथा छठ पर्वलाई मध्यनजर गर्दै सहायता कक्ष स्थापना गरिएको हो,’ बिकले भन्नु भयो, ‘भाडामा यात्रु ठगिने, सवारी साधनमा क्षमताभन्दा धेरै यात्रु राख्ने जस्ता कार्य निरुत्साहित गर्न र यात्रुलाई समस्या परेका खण्डमा सहयाता गर्न यात्रु सहायता कक्षले सहयोग गर्नेछ ।’ यात्रु सहायता कक्षमा यातायातका साधन चल्ने समयसम्म प्रहरी रहेर यात्रुहरूलाई सेवा दिने उँहाले जानकारी दिनु भयो । आफ्नो यात्राका लागि थाहा नभएको स्थान, भाडा दर, सवारी छुट्ने समयजस्ता कुराहरू यात्रुहरूले सहायता कक्षमा सोधपुछ गर्न सकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख प्रहरी साहेक निरीक्षक बिक्रम बिकले रेडियो मालश्री र मालश्री खबरलाई जानकारी दिनु भएको छ ।

   

प्रतिक्रिया दिनुहोस्