आन्दोलनरत स्थानीय तहका कर्मचारीहरूको मागहरू प्रति ऐक्यबद्धता जनाउदै रोल्पाका तिन संगठनको संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक

मालश्री खबर
मालश्री खबर १९ आश्विन २०८०, शुक्रबार
2 Min Read
Aa

मालश्री खबर ,असोज १९ गते रोल्पा ।

आन्दोलनरत स्थानीय तहहरूमा कार्यरत कर्मचारीहरूको मागहरू प्रति ऐक्यबद्धता जनाउदै नेपाल निजामती कर्मचारी संगठन रोल्पा, नेपाल निजामती कर्मचारी युनियन रोल्पा, र नेपाल राष्ट्रिय कर्मचारी संगठन रोल्पाले प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ ।

आन्दोलनरत स्थानीय तहहरूमा कार्यरत कर्मचारीहरूको जायज मागहरू प्रति ऐक्यबद्धता जनाउदै ति मागहरूलाई वार्ता, संवाद र छलफलको माध्यमबाट समाधान गरी छाता ऐनको रुपमा रहेको संघीय निजामती सेवा ऐन यथाशीघ्र जारी गर्न तर्फ पहल कदमी दिन प्रेस विज्ञप्ति सार्वजनिक गरेको विज्ञप्ति जनाइएको छ ।

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति रोल्पाका अध्यक्ष हिमाल घर्तिमगर, नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति रोल्पाका अध्यक्ष ईन्दिरा अधिकारी, नेपाल राष्ट्रिय कर्मचारी संगठन जिल्ला कार्यसमिति रोल्पाका सचिव मिराज कवरले हस्तक्षर गर्नुभएको विज्ञप्तिमा भनिएको छ– संविधान जारी भएको करिब एक दशक पुग्न लाग्दा समेत संघीय सेवा ऐन लगायतका विधयेक संसदमा दर्ता नहुनु र दर्ता भएका विधयकहरु समेत सरोकारवाला पक्षहरूसँग पर्याप्त छलफल नगरी उनिहरूका हितमा नआउनु दुखद पक्ष हो ।

हालसालै नेपाल सरकारले संघिय संसदमा दर्ता गर्ने गरी स्वीकृत प्रदान गरेको संघिय निजामती सेवा ऐनमा उल्लेख भएका विषय बस्तु प्रति असहमती जनाउदै स्थानीय तह कर्मचारी केन्द्रिय संघर्ष समिती को आह्वानमा असोज १५ गते देखी चरणबद्ध रुपमा दबावमूलक कार्यक्रमहरू काठमाडौ र देशभरका स्थानीय तहहरूमा संचालित रहेक विज्ञप्तिमा भनिएको छ ।

सङ्घीय निजामती ऐन समयमा नआउदा कैयन प्रदेशका प्रदेश निजामती सेवा ऐनहरू जारी हुन नसकेको र जारी भएका ऐनहरू समेत संघीय निजामती ऐन सँग मेल नखादा कर्मचारीमा अन्योलता, विभेद, अशान्त र वृति विकासमा असर पर्ने देखिन्छ । हरेक कर्मचारीलाई दिइने मर्यादा, सेवा सुविधा र वृति विकासको अवसर र समानता, निर्वाहमुखी, तुलनायोग्य र सामाजिक न्याय लगायतका सिद्धान्तमा आधारित हुनुपर्दछ । सबै तहरूमा कार्यरत राष्ट्र सेवक कर्मचारीहरूको आत्मसम्मान र कार्यसम्पादनमा असर पर्नेगरी कुनैपनी कृयाकलाप आधिकारिक निकायबाट गरिनु नहुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्