खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय रोल्पाले ‘पर्वाेत्सव सुपथ छुट मुल्य पसल’ संञ्चालनमा ल्याउन लागेको छ । नेपालीहरुको महान चाडपर्व वडादशै, तिहार र छठ पर्वलाई लक्षित गदैैँ कम्पनीले सुपथ पसल संचालनमा ल्याउन लागेको हो ।
विगतका वर्षहरुमा झैँ यस वर्ष पनि आफ्नो कार्यालयबाट “पर्वाेत्सव सुपथ छुट मुल्य पसल” संचालन गर्न लागेको निमित्त शाखा प्रमुख खर्कबहादुर बुढाले जानकारी दिनुभएको छ । असोज २१ गते देखि मंसिर ३ गते सम्म सुपथ छुट मुल्य पसल संचालन हुने कार्यालयको भनाई छ । जिल्ला खाद्य व्यवस्था समिति रोल्पाको आज लिबाङमा बसेको बैठकले सो निर्णय गरेको हो ।
जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सिता आचार्यको अध्यक्षतामा भएको पदाधिकारीहरुको बैठकमा जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, कृषि ज्ञान केन्द्र रोल्पाका प्रमुख मनोजकुमार सिंह, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड रोल्पाका निमित्त प्रमुख खर्कबहादुर बुढाको उपस्थित रहेको थियो । त्यस्तै जिल्ला प्रशासन कार्यालय रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ खतिवडा र जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरिक्षक रामनारायण गुप्ताको पनि सहभागिता रहेको थियो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि. प्रधान कार्यालय काठमान्डौँले नेपालीहरुको महान चाडपर्वहरु वडादशै, तिहार र छठ लगायतका पर्वहरुको अवसरमा उपभोक्ताहरुलाई राहत दिन कम्पनीले रोल्पा कार्यालयबाट असोज २१ गते देखि मंसिर ३ गते सम्म संञ्चालन गर्न लागिएको बुढाले बताउनुभयो ।
चाडपर्व लक्षित सुपथ मुल्य पसल संञ्चालन निर्देशन २०८० बमोजिम खाद्यान्न खरिद गर्ने उपभोक्ताको नाम, ठेगाना, सम्पर्क नम्बर, परिमाण, छुट रकम आदि उल्लेख भएको र दैनिक विक्रि रजिष्टर खडा गरि प्रत्येक व्यक्तिलाई बढिमा ५० केजी अर्थात २ बोराका दरले विक्रि गर्ने निर्णय गरेको छ । उपभोक्ताहरुको माग बढेमा र चाडपर्व लक्षित सुपथ मुल्य पसलका लागि स्विकृत खाद्यान्न कोटा ५०० क्विन्टलले अपुग हुने देखिएमा थप कोटा स्विकृतिका लागि कम्पनीको सम्बन्धित तालुक कार्यालयमा लेखी पठाउने निर्णयमा उल्लेख गरिएको छ ।
खाद्यान्न विक्री वितरणका क्रममा उपभोक्ताको चाप बढ्न गई हुन सक्ने झडप लगायतका कार्यलाई मध्यनजर गरि कम्पनिको मागबमोजिम सुरक्षाकर्मी खटाउन जिल्ला प्रहरी कार्यालय रोल्पालाई अनुरोध गरिएको पनि बताइएको छ । थबाङ्ग र पुतलाचौरमा कम्पनीको भैरहवा कार्यालयबाट चलान भई आउने खाद्यान्नहरु गत आर्थिक वर्षमा झै स्थानिय जनप्रतिनिधि, प्रहरी प्रशासनको रोहवरमा ढुवानीकर्ता वा निजको प्रतिनिधिको माध्यमबाट विक्रि वितरण गर्न सकिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्