चिउरी पेलेर तेल बनाउनमा व्यस्त रोल्पाका किसान

मालश्री खबर
मालश्री खबर १५ आश्विन २०८०, सोमबार
5 Min Read
Aa

भरत विश्वकर्मा, असोज १५ गते सुलिचौर रोल्पा ।।

रोल्पाको सुनिलस्मृति, माडी, रोल्पा नगरपालिकाको प्राय ठाउँ र अन्य पालिकाको केही स्थानमा चिउरी पाइन्छ, असार देखि भदौ महिना लगाएर टिपेको चिउरीलाई पेलेर तेल बनाउनमा यहाँका बासिन्दा व्यस्त छन ।

चिउरी पेलेर तेल बनाएपछि अरू तेलहरू किन्न नपर्ने सुनिलस्मृति गाउँपालिका वडा नम्बर २ खुङ्ग्रीकी उमा सिंह ठकुरी बताउनुहुन्छ । ‘घरमा आफूलाई आवश्यक पर्ने जति चिउरी राखेर बाँकी चिउरी बेच्ने गर्दछौँ ।’, उहाँले भन्नुभयो, ‘यसबाट कमाएको पैसाले केही आफूहरूले लत्ताकपडा, घरायसी उपभोग्य बस्तु लगाएतका सामाग्री किन्ने गर्दछौँ र बाँकी बचेको पैसालाई बचत गर्ने गर्दछौँ ।’ चिउरीको तेलको उपयोग बढी मात्रामा दशैँ, तिहार, सक्राँती लगाएत विभिन्न चाडपर्वमा विभिन्न परिकार बनाउनको लागि प्रयोग हुने उहाँ बताउनुहुन्छ ।

दशै, तिहार, सक्राँती लगाएतका चाडपर्वमा विभिन्न परिकार बनाउन विशेष प्रयोग गरिने चिउरीको तेलको माग यस क्षेत्रमा धेरै हुने गरेको यस क्षेत्रका बासिन्दाहरू बताउछन । यसको व्यापारबाट यहाँका मानिसहरूले १५ देखि २० हजार रुपैयाँ कमाउने गर्दछन, तर पछिल्लो समय चिउरी कम फल्न थालेपछि यहाँका किसानहरू चिन्तित छन । कुनै वर्ष चिउरी बोटभरी लटरम्म आउने र कुनै वर्ष खासै नआउने गर्नाले पनि उत्पादनमा धेरै कमी आएको छ ।

पुर्ख्यौँली पेशाको रूपमा चिउरी टिप्ने र विक्री वितरण गर्दै आउनुभएका सुनिलस्मृति २ खुङ्ग्रीकोटका लोकेन्द्र सिंह ठकुरीले, पहिलेको समयमा आफुहरुले एक वर्षमा दश देखि पन्ध्र मुरी टिप्ने गरेकोमा अहिले भने त्यसको उत्पादनमा धेरै कम भएको बताउनुहुन्छ । ‘असारको महिना देखि भदौ महिना सम्म जंगलमा गएर चिउरी टिप्नमा व्यस्त हुन्छौँ ।’ उहाँले भन्नुभयो, ‘भदौको महिनामा चिउरीको पात झर्नेबेलामा टिपेको चिउरीबाट राम्रो तेल आउछ ।’ ‘बोटहरू पनि पुरानो भए, नयाँ बोटहरू लगाउन छोडियो पछिल्ला पुस्ताले बिरुवा लगाउन र चिउरी टिप्नमा चासो दिएनन त्यसकारण उत्पादन धेरै घटेको छ ।’ उहाँले भन्नुभयो, ‘पहिलेको समयमा उत्पादन पनि धेरै भएको कारण गाउँमा धेरै चिउरी पेल्ने कोलहरू रहेको थियो, तर अहिले चिउरी टिप्ने र पेल्ने मानिसको सङ्ख्यामा धेरै कम आएको छ ।’

आधुनिक मेसिनको प्रयोगबाट चिउरीलाई पेलेर तेल निकाल्न थालेपनि काठको कोलबाटै यहाँका बासिन्दाले चिउरी पेल्छन । काठको कोलबाट एक दिनमा ३ मुरी सम्म चिउरी पेल्ने गरिन्छ । एक मुरी बराबर ७ धार्नीसम्म तेल आउने गर्छ ।

पहिलेको समयमा आफुहरूले मात्र १५ देखि २० मुरी चिउरी टिप्ने गरेको सुनिलस्मृति गाउँपालिका वडा नम्बर २ खुङ्ग्रीकोट का भीम बहादुर सेन ठकुरीले बताउनुभयो । ‘आफूलाई आवश्यकता अनुसार खाने गर्दछौँ र आवश्यकता भन्दा बढी भएको चिउरीलाई बेच्ने गर्दछु ।’ उहाँले भन्नुभयो, ‘हाम्रो घरमा तेलको रूपमा प्राय चिउरीको तेलनै खाने गरेका छौ ।’ चिउरीको तेललाई अहिले गाउँमा प्रति लिटर ३५० रुपैयाँका दरले विक्री हुनेगरेको उहाँले बताउनुभयो ।

रोल्पामा कति रकम बराबरको चिउरी फल्छ भन्ने एकिन विवरण भने छैन, । तर चिउरी मासिँदै जान लागेकोमा स्थानीयवासी भने चिन्तित छन् । चिउरीको रुखबाट विभिन्न प्रयोजनको लागि उपयुक्त हुने काठ बन्ने भएका कारण पनि चिउरीको बोट मासिदै गएको छ ।

यसबारेमा सुनिलस्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीले गाउँपालिकाले कार्यपालिकामै बैठक बसेर यसको संरक्षणको लागि निर्णय गरिएको बताउनुभयो ।, ‘सुनिलस्मृति गाउँपालिकाको प्राय जंगलहरू चिउरी उत्पादनको लागि उपयुक्त मानिन्छ, तर पछिल्लो समय यसको उत्पादनमा कम आएको छ ।’ उहाँले भन्नुभयो, ‘सोही कुरालाई मध्यनजर गरेर गाउँपालिकाले २०८०/०८१ को पहिलो कार्यपालिका बैठकमाबाट चिउरी काट्नमा प्रतिबन्ध गरिएको छ, र कसैले यस्तो कार्य गरेको पाइएमा दण्ड, जरिबाना गर्ने निर्णय गरेका र्छौ ।’ कार्यपालिकामा यसबारेमा बृहत् रूपमा छलफल गरे पश्चात् गाउँपालिकाले स्वर्गद्वारी वन कार्यालयबाट चिउरीको १६ हजार जति बिरुवा लिएर गाउँपालिकाको प्रत्येक वडामा वितरण गरेको अध्यक्ष बुढाथोकीले बताउनुभयो । यसका साथै गाउँपालिकाले प्रत्येक वर्षको असार, श्रावण महिनामा चिउरीको बिरुवाको वृक्षारोपण गर्ने योजना बनाएको बताउनुभयो ।

मानिसका लागि मात्र नभइ चिउरीको फूल माहुरीका लागि पनि महत्वपूर्ण मानिन्छ । चिउरीको उत्पादनमा बृद्धि गर्नको लागि स्थानीय सरकार सँगै विभिन्न निकाय पनि लागि परेका छन ।

चिउरीलाई नै मौरीको मुख्य आहारा रूपमा उत्पादनमा बृद्धि गर्नै उदेश्यका साथ सहयोगी हातहरूको समूह ( सहास ) नेपालले स्ट्रोम फाउन्डेसनको सहयोगमा संचालित सिड्स परियोजना मार्फत सुनिलस्मृति गाउँपालिका वडा नम्बर २ खुङ्ग्रीमा सञ्चालित चिउरी पेल्ने कोलको पनि संरक्षण गरिरहेको सहास नेपाल रोल्पाका जिल्ला परियोजना संयोजक सरोज पन्थीले बताउनुभयो ।

सामुदायिक वनहरूमा जेठ महिनादेखि असार महिनामा चिउरी बार्ने र साउन महिनामा सबै गाउँका स्थानीय भेला भएर टिप्ने गरिन्छ । चिउरीको बिजमात्र नभई यसको पाट पनि गाउँघरमा टपरी बनाउनको लागि प्रयोग गरिन्छ । चिउरी भदौमा टिपेर सकिन्छ अनि पेल्न सुरु गरिन्छ । करिब २०–२५ मिटरसम्म अग्लो रुख हुने चिउरी, समुद्र सतहबाट २०० देखि १५०० मिटरको उँचाइमा पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्