रोल्पाली युवाका लागि प्रेरक व्यक्तित्व माननीय डा. सुदन कुमार वली

मालश्री खबर
मालश्री खबर ६ आश्विन २०८०, शनिबार
3 Min Read
Aa

बलबहादुर घर्तिमगर

रोल्पा जिल्ला परिवर्तन गाउँपालिका चाबाङ निबासी डा. सुदन कुमार वली नेपालको नीति अनुसन्धान तथा प्राज्ञिक व्यवसायीका रुपमा उदाउँदा युवा हुन् । हिजो मात्र उनी लुम्बिनी प्रदेश योजना आयोगको माननीय सदस्यमा मनोनित भएका छन् ।


उनले युनिभर्सिटी अफ विजिनेश एण्ड इकोनोमिक्स बेइजिङ चीनबाट यसै बर्ष अर्थशास्त्रमा विध्यावारिधि हासिल गरेका हुन् । उनको मनोनयन राजनैतिक रुपमा अग्रपङक्तिमा रहेपनि प्राज्ञिक र व्यवसायिक विज्ञताको क्षेत्रमा पछाडी रहेको रोल्पाको निमित्त गौरबको विषय बनेको छ ।

२०४८ सालमा जन्मिएका ३२ बर्षीय वलीको शैक्षिक जीवन भने निकै संघर्षपूर्ण तथा अनुकरणीय छ । विध्यालय शिक्षा प्राप्त गर्न समेत सहज नहुने रोल्पा जस्तो दुर्गम ठाउँमा त्यस स्तरको शैक्षिक उपलब्धी हासिल गरी व्यवसायक सफलता हासिल गर्न सहज छैन । त्यसमा पनि निर्वाहमूखी किसानी परिवारको पृष्ठभूमिमा गुणस्तरीय शिक्षाको परिकल्पना गर्नै सकिदैन ।

उनले प्राथमिक तहसम्मको शिक्षा चाबाङमा प्राप्त गरेपनि माध्यामिक तहसम्मको शिक्षा प्राप्त गर्न गाउँ छोड्नु पर्ने अवस्था थियो । उनले कक्षा ६ देखि ८ कक्षासम्म तत्कालिन छिमेको गाविस राँकबाट प्राप्त गरे । घरबाट विध्यालय पुग्न करिब ३ घण्टा समय खर्चनु पर्थ्यो । त्यसमा पनि विध्यालय क्षेत्र अहिले जस्तो शान्त, सुरक्षित र व्यवस्थित थिएन ।

सशस्त्र द्वन्द्व चरम तहमा पुगेको समयमा विध्यालयका विध्यार्थीहरुलाई हप्तादिन देखि महिनादिनका अभियानमा सहभागी हुनुपर्थ्यो । ती अनिवार्य अभियानलाई कसैले पनि पन्छाउन सक्तैन थियो । विध्यालयभित्र अन्य दलको आभाष हुनु भनेको बहिस्करणमा पर्नु थियो । वली त्यति सानै उमेरमा त्यस बखत निषेधको दलीय राजनीतिको सिकार भएका थिए ।

उनी काठमाण्डौँ इट्टा भट्टामा मजदुरी गर्न गए तर पढ्ने उत्कट चाहना र हुटहुटीले उनलाई घर फर्कायो । उनी गाउँमा पढ्न सक्ने अवस्था थिएन । २०६२ सालमा उनी खाली हात बेखर्ची लिबाङ हिडे । त्यहाँ उनलाई साथीहरुले बस्ने प्रबन्ध मिलाइदिए । कहिले दैनिक ज्यालादारी र कहिले स्थानीयहरुको खेतीमा ध्यारी गरेर लिबाङमा बाँच्न सक्ने भए । उनलाई पाठ्यपुस्तक समेत साथीहरुले सेकेण्ड ह्याण्ड उपलब्ध गराइदिए । उनी आफै कमाउँदै लिबाङको हाइस्कूलबाट २०६५ सालमा एसएलसी पास गरे ।

काठमाण्डौँमा उच्च माध्यामिक विध्यालयमा भर्ना भए । एउटा गैरसरकारी संस्थामा शान्तिदूत भएर काम गर्ने अवसर पाए । त्यसबाट उनले आफ्नो खर्च जोहो गर्दै पढे । काम गर्दै पढ्दै गरेर उनले स्नातकसम्मको पढाई व्यवस्थापनबाट सके ।

उनले माननीय अमरसिंह पुनको सहयोगी भै काम गर्ने अवसर पाए । सन् २०१५ मा युनिग्लो कलेजबाट एमबिएको निमित्त पूर्ण छात्रवृत्ति पाएर पढ्ने अवसर पाए । यसले उनको शैक्षिक क्षेत्रमा नयाँ अवसर मिल्यो । उनले त्यसपछि एक कन्सल्ट्यान्सीमा इकोनोमिष्ट भएर काम गरे । लगत्तै सन् २०१९ मा चीनमा विध्याबारिधी पढ्ने अवसर पाए ।

पछिल्लो समय उनले राष्ट्रिय अर्थनीतिहरुमा विभिन्न राष्ट्रिय स्तरका सेमिनारहरुमा प्रस्तुतिहरु दिदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्