मालश्री खबर, भाद्र २५ गते रोल्पा ।
११ औं कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०२३ मा रोल्पा जिल्लाबाट १ जना निर्णायक सहित १५ जना तेक्वान्दो खेलाडीहरु सहभागी हुदै छन् ।
नेपाल तेक्वान्दो संघको आयोजनामा मिति २०८० भदौ २७ गते देखि ३१ गतेसम्म नेपाल तेक्वान्दो संघको केन्द्रीय कार्यालय सातदोबाटो ललितपुरमा हुन गैरहेको उक्त तेक्वान्दो प्रतियोगितामा रोल्पा जिल्लाबाट भागलिने खेलाडीहरुले पुम्सेतर्फ र ग्यरोगीतर्फ १५ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
्
मिति २०८० भाद्र २५ गतेका दिन भागलिन जाने खेलाडीहरुलाई रोल्पा जिल्ला तेक्वान्दो संघको आयोजनामा शुभ यात्रा सहित अग्रिम जितको लागि शुभकामना कार्यक्रम रोल्पा जिल्लाको सदरमुकाम लिबाङमा राखिएको थियो ।
रोल्पा जिल्ला तेक्वान्दो संघका अध्यक्ष हेमन्त खत्रीले अध्यक्षतामा सुरु भएको कार्यक्रममा रोल्पा नगरपालिकाका निवर्तमान नगर प्रमुख तथा रोल्पा जिल्ला तेक्वान्दो संघका संरक्षक पुर्ण के.सी.को प्रमुख अतिथ्यता रहेको थियो ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका सदस्य तथा एथलेटिक्स संघ रोल्पाका कोषाध्यक्ष जयश्री रेग्मी, रोल्पा जिल्ला व्याडमिन्टन संघका अध्यक्ष बेगम कुमार हमाल, रोल्पा जिल्ला टेवल टेनिस संघका अध्यक्ष याम बहादुर गुरुङ, रोल्पा शहरी खानेपानीका अध्यक्ष लिलाधर आचार्य र बाल कल्याणा नमूना मावि लिबाङका तेक्वान्दो प्रशिक्षक दिपक परियार लगायत तेक्वान्दो प्रशिक्षक, तेक्वान्दो प्रेमी तथा खेलाडीहरुको उपस्थिति रहेको थियो ।
रोल्पा जिल्ला तेक्वान्दो संघका संरक्षक पुर्ण के.सी. तथा कार्यक्रमका प्रमुख अतिथी लगायतका अतिथीहरुले अग्रिम जितको शुभकामना दिनु भएको थियो ।
सो प्रतियोगितामा प्रतियोगितामा भारत, बंगलादेश लगायतका देशहरुबाट खेलाडी सहभागी हुँदैछन् । प्रतियोगितामा ७११ महिला र १०६७ पुरुष गरी १७७८ जना सिनियर तथा जुनियर खेलाडीहरुको सहभागिता रहने नेपाल तेक्वान्दो संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक भान बहादुर चन्दले बताउनुभयो ।
पुम्सेतर्फ २५ र ग्यरोगीतर्फ ३२ गरी जम्मा ५७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता सञ्चालन गर्न ६० जना निर्णायक, १५ जना प्राविधिक र ३५ जना स्वयम्सेवकहरु परिचालन गरिनेछ । उक्त कार्यक्रम संचालन रोल्पा जिल्ला तेक्वान्दो संघका सचिब तथा राष्ट्रिय रेफ्री लोकेन्द्र सेनले गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्