रक्षाबंधन स्नेह-मिलन कार्यक्रम लिबाङमा सम्पन्न

मालश्री खबर
मालश्री खबर १४ भाद्र २०८०, बिहीबार
5 Min Read
Aa

मालश्री खबर, भाद्र १४ गते ।

रक्षाबंधन स्नेह-मिलन कार्यक्रम लिबाङमा सम्पन्न भएको छ । ब्रह्कुमारी ईश्वरीय विश्व बिद्यालय एंव राजयोग प्रशिक्षण केन्द्र शाखा लिबाङ रोल्पाको आयोजना कार्यक्रम भएको आयोजकले जानकारी दिएको छ ।

रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्तिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको बिशिष्ट अतिथिमा जिल्ला समन्वय समिती रोल्पाका उपप्रमुख कर्मलाल परियार रहनु भएको थियो । कार्यक्रममा रोल्पा नगरपालिका उपप्रमुख गिता आचार्य, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरिक्षक देबिराम भण्डारी, अधिबत्ता जित बिक्रम मल्ल, सहरी विकास तथा भवन कार्यालय रोल्पाका कार्यालय प्रमुख रामआश्रय साह, नेपाल पत्रकार महासंघ रोल्पाका निबर्तमान अध्यक्ष मानसिंह बिक, रेडियो मालश्रीका पत्रकार लोकेन्द्र चन्द लगाएतको आतिथ्यता रहेको थियो ।

रक्षाबंधन स्नेह-मिलन कार्यक्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्तिले यस्तो महत्वपुर्ण कार्यक्रममा आफुलाई बोलाएकोमा आयोजकलाई धन्यवाद दिंदै, रक्षाबंधनको सबैलाई शुभकामना दिनु भएको छ । मानिसको पछिल्लो समय बिचार र चिन्तन अलि प्रदुषित हुदै गएको बताउनु भएको छ । समाज राम्रो काम गरौ र अरुको भलो चिताउनेहरुको यो समाजमा कमि हुंदै गएको बताउदै प्रमुख घर्तिले यस्तो प्रकारको कार्यक्रम बाट त्यस्तो कुराको बिस्तारै अन्त्य हुने बताउनु भएको छ ।

सोही कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले रक्षाबंधनको सबैलाई शुभकामना दिंदै अहिले समाजमा धेरै प्रकारको बिकृतीहरु बढीरहेको बताउनु भएको छ । त्यो बढ्नु प्रमुख कारण भनेको आफ्नो आत्म र मन ठिक ठाँउमा राख्न नसक्दा यस्तो भएको कुरा बताउदैं प्रजिअ घिमिरेले यस्ता कुराहरुको अन्त्य गर्न आजको यो रक्षाबंधन स्नेह — मिलन कार्यक्रम महत्वपुर्ण हुने बताउनु भएको छ ।

 

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ । दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्दै रक्षा बन्धन पर्व धुमधाम साथ आज मनाइरहेका छन् ।

भाइ र बहिनी बीचको अटुट प्रेमलाई दर्शाउने पर्व रक्षाबन्धनमा खास गरेर रक्षाबन्धन हिन्दू धर्मावलम्बीहरुले मनाउने एउटा पवित्र पर्व हो । रक्षाबन्धन शब्दमा दुई वटा शब्द जोडिएको छ ‘रक्षा र बन्धन’ रक्षाको अर्थ भाइले बहिनीको रक्षा गर्ने बाचा दिन्छ भने बन्धन जसले भाइ बहिनीको सम्बन्धमा अझ बढी माया, स्नेह, सामिप्य र प्रेम ल्याउने धार्मिक मान्यता रहदैे आएको छ ।

रक्षाबन्धनलाई पारिवारिक मेलमिलाप बढाउने पर्व रुपमा समेत लिउने गरेको पाइन्छ । यो अवसरमा परिवारका हरेक मानिस एक ठाउँमा जम्मा हुन्छन् । रक्षाबन्धनका अवसरमा बजारमा पनि विशेष चहल पहल हुन्छ ।

पौराणिक कथा अनुसार देवराज ईन्द्र र दैत्यराज वृत्तासुरका साथ १२ वर्षसम्म भयङ्कर युद्ध चलेको थियो । यस युद्धमा असुरहरुले देवताहरुमाथि विजय प्राप्त गरेका थिए । पराजित देवगण धर्म एवं संस्कारविहीन भएर जीवनयापन गर्न लागे ।

यसरी गौरवहीन जीवनदेखि देवराज ईन्द्र बाँच्नुभन्दा मर्नु नै श्रेयस्कर सम्झेर असुरसँग अन्तिम युद्ध गर्ने सङ्कल्प लिनुहुन्छ । त्यो दिन श्रावण शुक्ल चतुर्दशीको दिन थियो । अतः देवगुरु वृहस्पतिले अघिल्लो दिन ईन्द्रको कल्याण एवं विजय कामना होस् भनी श्रावणमासको पूर्णिमाको शुभमूहूर्तमा ईन्द्रलाई रक्षाबन्धन बाँधेर बल प्रदान गरेका थिए ।

जनैपूर्णिमाका दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ । खेतीपातीका क्रममा थकित शरीरमा शक्ति प्रदान गर्न टुसा उमारिएको पौष्टिक तत्वयुक्त क्वाँटी खाइनुले यसलाई प्रकृतिसम्मत पर्वका रुपमा पनि लिइन्छ ।

यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामन अवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध जोडिएको छ ।

ब्रह्कुमारी ईश्वरीय विश्व बिद्यालय एंव राजयोग प्रशिक्षण केन्द्र शाखा लिबाङ रोल्पाकी प्रमुख संचालिका पुष्पा केसिको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य ब्रह्कुमारी ईश्वरीय विश्व बिद्यालय एंव राजयोग प्रशिक्षण केन्द्र शाखा लिबाङ रोल्पाको सञ्चालक समिती सचिव निम बहादुर सिंह गर्नु भएको थियो भने कार्यक्रमको संंचालन ब्रह्कुमारी ईश्वरीय विश्व बिद्यालय एंव राजयोग प्रशिक्षण केन्द्र शाखा लिबाङ रोल्पाकी सह संचालिका अमिता चौधरीले गर्नु भएको थियो ।

कार्यक्रममा ब्रह्कुमारी ईश्वरीय विश्व बिद्यालय एंव राजयोग प्रशिक्षण केन्द्र शाखा लिबाङ रोल्पामा आबद्ध व्यत्ति, बिभिन्न सरकारी गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधी, पत्रकार, सुरक्षाकर्मि लगाएतको सहभागिता रहको थियो ।

     

प्रतिक्रिया दिनुहोस्