गुम्चालको थाम लेकमा पुनः निर्मित शिव मन्दिरकाे गाउँपालिकाका अध्यक्षद्वारा उद्धघाटन

मालश्री खबर
मालश्री खबर ६ भाद्र २०८०, बुधबार
2 Min Read
Aa

मालश्री खबर, भाद्र ६ गते रोल्पा /

लुङ्ग्री गाउँपालिका वडा न‍ ६ गुम्चालमा नव निर्मित शिव मन्दिरकाे आज बुधबार उद्घाटन भएको छ । उक्त मन्दिरको उद्घाटन लुङ्ग्री गाउँपालिकाका अध्यक्ष भरतकुमार थापाले गर्नु भएको हो ।

लुङग्री गाउँपालिका ६ गुम्चालको थाम लेकमा रहेको शिवको मन्दिर वि. स. २०१३ सालमा निर्माण भएको मन्दिर हो । ढुङ्गा माटोबाट बनेको मन्दिर भएको, पुरानो भएकोले नयाँ आधुनिक सहितको मन्दिर निर्माण गरिएको लुङ्ग्री गाउँपालिकाका अध्यक्ष भरतकुमार थापाले जानकारी दिनुभयो ।

थाम शिव मन्दिरमा भदौ पूर्णिमा र जेठ पुर्णिमामा गरी वर्षको २ पटक ठुलो मेला लाग्ने गर्छ । भदौ पूर्णिमा र जेठ पुर्णिमामा मन्दिरमा शिव देवताको पुजापाठ गरिन्छ । धार्मिक पर्यटकिय हिसाबले महत्वपुर्ण र गन्तव्य मानिने मन्दिरमा आज देखी नै बिधिवत रुपमा पुजापाठको प्रबन्ध मिलाइने बताइएको छ । मन्दिर निर्माणको धेरै भाग सकिएपनी अझै निर्माणको कामहरु भएकोले गाउँपालिका त्यो काममा पनि लागेको अध्यक्षले बताउनुभयो ।

लुङ्ग्री गाउँपालिकाका अध्यक्ष भरतकुमार थापाले मालश्री खबर संग भन्नुभयो– ‘धार्मिक महत्व बोकेको शिव मन्दिरलाई जिल्ला भित्र जिल्ला बाहिरबाट पर्यटकहरु भित्रयाउन सके अझ धेरै मन्दिर संगै गाउँपालिकाको गरिमा बढ्ने छ । गाउँपालिका मन्दिरको संरचना निर्माण, प्रचार प्रसारमा लागिरहने छ, बाकी रहेको कामलाई पनि छिट्टै सकाउने छौ ।

मन्दिर पुनर्निर्माणको लागि लुङग्री गाउँपालिकाबाट १० लाख, ६ नं वडा गुम्चाल वडा कार्यालयबाट ५ लाख, थाम मिलिजुली सेवा समाज दोहा कतार बाट रु ४ लाख ३५ हजार २ सय ३२ रुपैयाँ, स्थानिय जनश्रमदान १४ लाख ८५ हजार र बिभिन्न सहयोगीदाताहरु बाट १८ लाखमा निर्माण गरिएको हो भने बाँकी मन्दिरको ऋण ९ लाख ६७ हजारको लागतमा मन्दिर निर्माण गरिएको वडा नं ६ गुम्चालका अध्यक्ष जोखबहादुर बुढाथोकी ‘बिवेक’ ले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्