लोकेन्द्र चन्द/श्रावण १९ गते रोल्पा ।
रोल्पामा पछिल्लो समय आँखा पाक्ने समस्या भएका बिरामीहरु बढेका छन् । रोल्पामा आँखा पाक्ने रोग फैलिएसँगै बिरामीको संख्या पनि बढेकोे आँखा चिकित्सकहरुले बताएका छन् ।
कन्जनटिभाइटिस भाइरसबाट लाग्ने सरूवा रोगका कारण रोल्पा अस्पताल रेउघा रोल्पामा दैनिक २० देखि ३० जना बिरामी आउने गरेको रोल्पा अस्पताल रेउघाकी नेत्र साहेक दिपा भण्डारीले जानकारी दिनु भएको छ ।
त्यस्तै सामुदायिक आँखा केन्द्र लिबाङ रोल्पामा पनि पछिल्लो समय कन्जनटिभाइटिस भाइरसबाट लाग्ने सरूवा रोगका कारण दैनिक २५ देखि ३५ जना बिरामि आउने गरेको सामुदायिक आँखा केन्द्र लिबाङका इन्चार्ज नेत्र साहेक अमन चौधरीले बताउनु भएको छ ।
उता सुनिलस्मृती गाँउपालिकाको सुलिचौरमा रहेको सुलिचौर आँखा उपचार केन्द्रमा पनि दैनिक २५ देखि ३० जना बिरामिहरु आउने गरेको सुलिचौर आँखा उपचार केन्द्रका नेत्र साहेक प्रबिन डिसीले जानकारी दिनु भएको छ ।
कन्जनटिभाइटिस भाइरस रोगका कारण आँखा पाकेर बढी केटाकेटीहरू अस्पताल आउने गरेका नेत्र चिकित्सकहरुले जानकारी दिएका छन् । सुरुमा भाइसका कारण आँखा पाक्ने समस्या लियर बालबालिकाहरु मात्र आए पनि पछिल्लो समयमा भने अन्य व्यतिहरु पनि आउने गरका छन् ।
कन्जनटिभाइटिस भाइरस रोगका कारण आँखा रातो हुने, चिलाउने, पोल्ने, घाममा हेर्न गाह्रो हुने, कचेरा आउने, आँखाबाट रगत मिसिएको आँसु आउने, ज्वरो आउने, घाँटी दुख्ने समस्या देखिने गरेको रोल्पा अस्पताल रेउघाकी नेत्र साहेक दिपा भण्डारीले बताउनु भयो । आँखामा भाइरस सङ्क्रमण भए पछि १ देखि २ हप्ता सम्म रहने भण्डारीले बताउनु भयो । कति पयको १ देखि २ हप्ताको बिचमा आफै निको हुने तर आफुलाई अलि गाह्रो भएमा तत्काल स्वास्थ्यकर्मिको सम्पर्कमा आएर आँखाको उपचार गर्न सबैलाई सुझाब दिनु भएको छ ।
पाकेको आँखालाई आइसले सेक्दा र सफा चिसो पानीले आँखा धुँदा केही सहज हुने भएकोले बिरामिहरुलाई त्यसो गर्न समेत सुझाब दिनु भएको छ । आँखा पाक्यो भने दुईचार दिनमा आफै निको हुन्छ भनेर चुपलागेर नबस्न र बजारबाट आफूखुसी औषधि किनेर आँखामा नहाल्न समेत भण्डारीले सुभाब दिनु भएको छ ।
त्यसो गर्दा बजारमा पाइने औषधिले तुरुन्तै आँखा निको भए पनि भविष्यमा मोतिविन्दु, जलविन्दु जस्ता समस्या हुन सक्ने बताउनु भएको छ ।
पुतलीको कणले गर्दा आँखा पाकेको हो भने बजारबाट औषधि किनेर लगाउँदा ज्योति नै गुम्न पनि सक्छ, त्यसैले आँखा पाकेपछि चिकित्सकसँग परार्मश गरेर मात्र औषधि प्रयोग गर्नु पर्ने सल्लाह दिनु भएको छ ।
कम्प्युटर, ल्यापटप, मोबाइल अर्को व्यक्तिले चलाउँदा यो रोग सर्ने सम्भावना हुन्छ, त्यसैले सङ्क्रमणबाट जोगिनका लागि सङ्क्रमित व्यक्तिको नजिक नबस्ने, भिडभाडमा नजाने, बिरामीले प्रयोग गरेका औषधि, रुमाल, फोन, सिरानी तथा ओच्छ्यान प्रयोग गर्नु हुँदैन । त्यस्तै औषधि प्रयोग गरिसकेपछि हातधुने, आँखा नछुने तथा चस्माको प्रयोग गर्नुपर्छ । अनावश्यकरुपमा भिडभाडमा नजाने तथा जानै परे चस्माको प्रयोग गर्ने र लक्षण देखिएमा अस्पतालमा जाँच गराउन आउन पनि रोल्पा अस्पताल रेउघाकी नेत्र साहेक दिपा भण्डारीले सुझाव दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्