प्रथम बागमारा महोत्सवको लुम्बिनी प्रदेशका सांसद दिपेन्द्र कुमार पुनले उद्घाटन गर्ने

मालश्री खबर
मालश्री खबर १२ असार २०८०, मंगलवार
2 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर
मालश्री खबर, असार १२ गते रोल्पा ।

पश्चिम रोल्पाको परिवर्तन गाउँपालिकामा प्रथम बागमारा सांस्कृतिक, कृषि, पर्यटन तथा व्यापार महोत्सव हुने भएको छ ।

‘ब्याडमिन्टन खेल विकासको लागि हाम्रो अग्रता, स्वस्थ समाज निर्माणको लागि हाम्रो प्रतिबद्धता’ भन्ने मुलनाराका साथ परिवर्तन गाउपालिका–३ बागमारामा प्रथम बागमारा सांस्कृतिक,कृषि,पर्यटन तथा व्यापार महोत्सव २०८० असार १३ गते बुधबार देखि असार २७ गतेसम्म हुन लागेको हो ।

प्रगतिशील ब्याडमिन्टन क्लब परिवर्तन गाउँपालिका–३ बागमाराको आयोजना र बजार व्यवस्थापन समिति परिवर्तन गाउँपालिका–३ बागमाराको सह–आयोजनामा प्रथम बागमारा सांस्कृतिक, कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८० हुन लागेको आयोजकले जानकारी दिएको छ ।

बुधबार देखि उद्घाटन हुने महोत्सव कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद दिपेन्द्र कुमार पुन (सिजल) को प्रमुख आतिथ्यतामा र नेकपाका वैकल्पिक केन्द्रका केन्द्रिय सदस्य तथा स्कुलिङ बिभागका केन्द्रिय सदस्य सन्तोष सुवेदी (प्रयास) को विशिष्ट आतिथ्यतामा हुने प्रगतिशील ब्याडमिन्टन क्लबका अध्यक्ष प्रेम कुमार बुढामगरले जानकारी दिनु भएको छ ।

बुढामगरले भन्नुभयो– हामीले कार्यक्रम उद्घाटन गर्नका लागि प्रतिनिधिसभाका सांसद अथवा प्रदेशका मन्त्रीलाई ल्याउने भनेका थियौ तर उहाँहरुको ब्यस्तताले गर्दा प्रदेश सांसद र नेकपाका केन्द्रिय सदस्यलाई बोलाएका छौ,उनले भने । त्यस्तै महोत्सव अवधिभर परिवर्तन गाउँपालिका भित्र रहेका मौलिक कला संस्कृति, भेषभुषा, परिवर्तन गाउँपालिका भित्र उत्पादन हुने कृषि जन्य वस्तु र परिवर्तन गाउँपालिका भित्रका महत्त्वपूर्ण पर्यटन क्षेत्रको प्रदर्शन गर्न सकिने समेत आयोजकले बताएको छ । प्रथम बागमारा सांस्कृतिक, कृषि, पर्यटन तथा व्यापार महोत्सवलाई सभ्यर भव्य रूपमा सफल बनाउन विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, स्वास्थकर्मी, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा कर्मचारी, पत्रकार, शिक्षक, विद्यार्थी, बुद्धिजीवी, व्यापारी विभिन्न झाँकी समूहलाई उपस्थित भइदिन आयोजकले अपिल गरेको छ ।

महोत्सव अवधिभरमा नेपाली चलचित्रका महानायक राजेश हमाल लगायत राष्ट्रिय स्तरका कलाकार तथा स्थानीय स्तरका कलाकारहरुको बेजोड प्रस्तुति रह्ने समेत आयोजले जानकारी दिएको छ ।

महोत्सवमा पुरुष युगल ब्याडमिन्टन प्रतियोगिताको पनि राखिएको छ । प्रतियोगितामा प्रथम हुनेले नगद २० हजार, दोस्रो हुनेले नगद १० हजार, तेस्रो हुनेले नगद ७ हजार ५ सय र सान्त्वना हुनेले ५ हजार पुरस्कार पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्