भरत विश्वकर्मा,
मालश्री खबर जेठ १४ गते, रोल्पा ।
सुनिलस्मृती गाउँपालिका ८ अरेशका केशव र पावल विक सहोदर दाजु भाई हुन । सुनिलस्मृती गाउँपालिका ८ अरेश निवासी विकको दाजुभाईले सुनिलस्मृती गाउँपालिका ४ सुलिचौरमा काठको भाडा वनाउन थालेको दश वर्ष भयो । यो उहाँहरुको पुख्र्यौली पेशा हो । लुंग्रीखोला नजिक खाक्सिमेला भन्ने स्थानमा सानो उद्योग स्थापना गर्नु भएका विक दाजुभाईले काठवाट निर्मित ठेकीका साथै गिलास, प्लेट, कप, थाली, हर्पे, चकला, वेल्ना लगायतका घरायसी सजावटका सामाग्री स्मेत निर्माण गर्दै आउनु भएको छ ।
यो पुख्यौली पेसा भएकाले दश वर्ष देखी हामीले धानीरहेका छौ पावल विकले भन्नुभयो । वावु वाजेले गर्दै आएको पेशा भएकाले यसलाई छोड्न सकिएन विकले भन्नु भयो । विगतमा दुधका लागी गाई भैसी पाल्ने चलनले ठेकीको माग पनि अत्यधिक थियो, पछिल्ला दिनमा गाईभैसी पाल्ने संख्या घट्दै जान थालेसंगै पेशा पनि संकटमा पर्न थालको विकको भनाई छ । गाईभैसी पाल्नेहरु पनि ठेकीको सट्टा प्लाष्टिकका भाडा प्रयोग गर्छन विकाले भन्नु भयो ।
वजारमा आएको प्लाष्टिकका कारण काठवाट निर्मित भाडाहरु लोप हुन थालेको प्रति केशव विकको चिन्ता छ । काठवाट निर्मित ठेकीमा जमाएका दही स्वास्थ्यका लागी पनि फाईदाजनक भएपनि मान्छेहरु त्यतातिर ध्यानदिदैनन विकले भन्नु भयो । प्लाष्टिकले आफ्नो पेशा नै धरापमा पर्न थालेको विक दाजुभाईको गुनासो छ ।
पुख्र्यौली पेशा नै छाडौकी भन्ने अवस्था सिर्जना भएको विक दाजुभाईको भनाई छ । विगतमा आफ्नो समुदायका धेरै व्यक्तीले उक्त पेशा गरेको भएपनि अहिले आफुहरुले मात्रै उक्त काम धानिरहेको विक दाजुभाईको भनाई छ । प्रायः सवै जसोले पेशा परिवर्तन गरिसके, हामीले मात्रै निरन्तरता दिईरहेका छौ पावल विकले भन्नु भयो । निकै मेहनत गरेर तयार गरेको ठेकीको लागत पनि वढी हुदा ग्राहकहरु मूल्य दिन हिचकिचाउने गरेको विक दाजुभाईको तितो भोगाई छ ।
उद्योग प्रवद्र्धनमा स्थानीय सरकारले सहयोग गरे सामानको लागत पनि कम हुने थियो, तर स्थानीय सरकारको यस तर्फ ध्यान नगएको विक दाजुभाईको गुनासो छ । काठको सामान किन्नका लागी छिमेकी जिल्ला प्यूठान, दाङ लगायतका स्थानवाट समेत आउने गरेको विक दाजुभाईको भनाई छ । काठको सामानको महत्व वुझेकाहरु टाढा टाढावाट पनि आउने गरेपनि नजिकको तिर्थ हेला भने झै स्थानीयहरुमा भने यस्तो चेतना देखिदैन पावलले भन्नु भयो ।
उद्योगका लागी कच्चा पदार्थको समेत वेला वेलामा अभाव हुने गरेको विक दाजुभाईको गुनासो छ । यसका लागी चाहिले कच्चा पदार्थको सतत् उपयोग गर्ने गरेका छौ विकले भन्नु भयो । कच्चा पदार्थको उत्पादनमा पनि स्थानीय सरकारले जोड दिनु पर्ने विक दाजुभाईको माग छ ।
विक दाजुभाईका अनुसार यो काम गर्न कडा मेहनत गर्नुपर्छ । मेहनत गरे अनुसारको मूल्य पनि राम्रै परेपनि वजारीकरणमा भने समस्या छ ।
माग कम हुदा पेशा नै संकटाउन्मुख हुदा परिवार पाल्न धौ धौ हुने गरेको विक दाजुभाईको भनाई छ । यति धेरै परिश्रम गरेर गरिने कामको सम्मान पनि नभएको विक दाजुभाईको गुनासो छ । श्रम र श्रमिकको सम्मान गर्ने संस्कारको विकास नभएसम्म यस्ता पेशाहरु लोप हुदै जाने उहाँहरुको ठहर छ । नेपाली माटोमा विकास भएका यस्ता पुख्र्यौली पेशा संरक्षणका लागी राज्यस्तरवाट ध्यान दिनु पर्ने उहाँहरुको माग छ । नयाँ पुस्तालाई समेत पेशा प्रति आकर्षित गर्नु पर्ने विकको दाजुभाईहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्