Ad image

वडाध्यक्ष कृष्ण वली पेस्तोलसहित पक्राउ

मालश्री खबर
मालश्री खबर ४ बैशाख २०८०, सोमबार
2 Min Read
Aa

मालश्री खबर बैशाख ३ गते, रोल्पा ।
रोल्पाका एक वडाध्यक्ष पेस्तोलसहित पक्राउ परेका छन् । जिल्लाको गंगादेव गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष ३३ वर्षीय कृष्ण वली अटोमेटिक पेस्तोलसहित पक्राउ परेको जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामकुमार सारू मगरले सेतोपाटीलाई बताए ।

वडाध्यक्षले आफ्नो घरमा अवैध हतियार लुकाएको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले खानतलासी गर्दा घरको माथिल्लो तलामा लुकाएर राखेको अवस्थामा स्वचालित पेस्तोल बरामद भएको हो । ’मेड इन इटाली’ लेखिएको नौ राउन्ड गोली लाग्ने एक थान पेस्तोल म्यागजिनसहित बरामद भएको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय घर्ती गाउँ र प्रहरी चौकी पाखापानीबाट खटिएको प्रहरी टोलीले दिउँसो १ बजेतिर वडाध्यक्षको घर खानतलासी गरेको हो । ’गाउँमा सधैं पेस्तोल लिएर हिँड्छन् भन्ने हामीलाई सूचना थियो,’ एक प्रहरी अधिकारीले भने । पक्राउ परेका वलीविरूद्ध हातहतियार तथा खरखजना मुद्दा चलाइएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला अदालत रोल्पाले वडाध्यक्ष वलीलाई थप १४ दिन थुनामा राखेर घटना अनुसन्धान गर्न म्याद थप गरिदिएको डिएसपी मगरले बताए । वडाध्यक्ष वलीविरूद्ध चैत ३० गते बेलुका ४ बजेको समयमा गंगादेव गाउँपालिकाका अध्यक्षले चढ्ने रा १ झ १९१ नम्बरको सरकारी गाडी तोडफोड गरेको अभियोग पनि छ ।

- Advertisement -
Ad image

उक्त अभियोगमा जिल्ला प्रशासन कार्यालयले उनीविरूद्ध थप १५ दिन म्याद थप गरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरूद्धको कसुर (अभद्र) व्यवहार सम्बन्धी मुद्दामा पनि अनुसन्धान भइरहेको डिएसपी मगरले जानकारी दिएका छन् । वडाध्यक्ष वली विप्लव नेतृत्वको नेकपा हुँदै गत चुनावमा नेपाली कांग्रेस प्रवेश गरेको भन्ने खुलेको प्रहरीले जानकारी दिएको छ ।  सेतोपाटी

 

प्रतिक्रिया दिनुहोस्