Ad image

लामो समयसम्म पानी नपर्दा हिउँदे बाली सुक्दै

मालश्री खबर
मालश्री खबर ६ पुष २०७९, बुधबार
2 Min Read
Aa

मालश्री खबर, पुस ०६, रोल्पा । हिउँदे वर्षा नभएपछि रोल्पामा यो वर्ष हिउँदे बालीको उत्पादनमा कमी आउने अनुमान गरिएको छ । हिउँदे बाली लगाउने समयदेखिनै परेको खडेरीका कारण लगाइएकोे बालीसमेत सुक्न थालेको छ । लामो समयसम्म परेको खडेरीका कारण जिल्लामै गहुँ, जौ, केराउ, मसुरोलगायत बालीको उत्पादनमा निक्कै कमी हुने देखिएको छ ।

यसवर्ष खडेरीका कारण अधिकांश क्षेत्रमा लगाएको हिउँदे बाली सुकेर नष्ट भएपछि वर्षभरि कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको माडी गाउँपालिका ३ का किसान रुद्र रोकाले बताउनुभयो । आकासे पानीको भरमा खेती गरिने जिल्लाको अधिकांश क्षेत्रमा पानी नपरेपछि सबैजसो बाली सुक्न थालेको छ । जिल्लामा पाँच हजार नौ सय ६५ हेक्टर जमिनमा गहुँखेती गरिँदै आएकामा ३२ दशमलव सात प्रतिशत जमिनमा मात्रै सिँचाइको सुविधा छ ।

सिँचाइको सुविधा नभएका ठाउँमा कतिपय किसानले गहुँबालीसमेत छर्न पाएनन् भने छरेका ठाउँमा पनि खडेरीका कारण बालीनाली सुक्न थालेको उहाँको भनाइ थियोे । सिँचाइको सुविधा नभएको त्यस क्षेत्रमा हिउँदेबाली लगाएपछि पानी नपरेका कारण बाली सुक्न थालेको सोही ठाउँका अर्का किसान अकबर सिंह खत्रीले बताउनुभयो ।

जिल्लाको अन्य क्षेत्रमासमेत बाली सुक्न थालेको किसानहरुले बताएका छन् । कतिपय ठाउँमा सिँचाइको लागि पानी भए पनि भौतिक पूर्वाधार नहुँदा सिँचाइ गर्न समस्या भएको छ । खेतीपातीकै भरमा जीविकोपार्जन गरिरहेका जिल्लाका अधिकांश ठाउँका किसान उत्पादनमा कमी आउने देखिएपछि चिन्तित भएका छन् ।

- Advertisement -
Ad image

 

वर्षे बालीमासमेत वन्यजन्तुले क्षति गरेका कारण खासै उत्पादन नभएको र हिउँदेबाली खडेरीले सुक्न थालेपछि चिन्तित भएका रोल्पाका किसानले सिँचाइको लागि स्थानीय सरकारले उपयुक्त व्यवस्था गर्न नसकेको गुनासो गरे । गएको वर्ष रोल्पामा राम्रै गहुँ उत्पादन भएकामा यो वर्ष भने समयमै पानी नपरेपछि गहुँ उत्पादनमा कमी आउने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array