Ad image

रोल्पामा सहज बन्दै सुरक्षित गर्भपतन सेवा

मालश्री खबर
मालश्री खबर २७ मंसिर २०७९, मंगलवार
7 Min Read
Aa

गणेश केसी

मालश्री खबर /मंसिर २७, रोल्पा ।

नेपाल सरकारले सुरक्षित गर्भपन सेवालाई महिलाको प्रजनन् अधिकारका रुपमा दिए पछि रोल्पामा पनि सुरक्षित गर्भपतन सेवा सहज बन्दै गएको छ । रोल्पाका रहेका विभिन्न सरकारी तथा गैर सरकारी संघ सस्थाहरुले पनि यसको बारेमा जनचेतनामुलक कार्यक्रम संचालन गर्दा यो सेवा सहज बन्न पुगेको हो ।

नेपाल सरकारले सुरक्षित गर्भपतन सेवा महिलाहरुको प्रजनन् अधिकार भने पनि यहाका समाजले सुरक्षित गर्भपतनलाई स्विकारर्न नसक्दा सेवा प्रभाव हिन बनेको थियो । तर रोल्पाका क्रियाशिल पास नेपाल र आइपास नेपालले सुरक्षित गर्भपतनका बारेमा विभिन्न चेतनामुलक कार्यक्रमहरु संचालन गरे पछि नागरिकहरुको चेतना स्तर उठेको छ । जसले गर्दा महिलाहरुले आफ्नो प्रजनन् अधिकारलाई प्रयोग गर्दा सुरक्षित गर्भपतन सेवा सहजै लिन सकिरहेका हुन ।

- Advertisement -
Ad image

अझै पनि रोल्पा जिल्लाका विभिन्न स्थानहरुमा भने सुरक्षित गर्भपतन सेवा लिनबाट बन्चित धेरै महिलाहरु रहेका छन् । पास नेपाल र आइपास नेपाल रोल्पाले जिल्लाको लुग्री, माडि, रुन्टिगढी र थबाङ गाउँपालिकामा मात्र सुरक्षित गर्भपतन सम्वन्धि कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । यि ४ वटा पालिकाहरुमा सुरक्षित गर्भपतन सेवा लिने महिलाहरुको संख्यामा वृद्धि र सहज सेवा भए पनि अन्य पालिकामा भने अवस्था त्यस्तो देखिदैन । समाजले गर्भपतन गर्ने महिलाहरुलाई दोस्रो जनरले हेर्ने अर्थात परपुरुष संग सम्वन्ध राखेर बच्चा फालेको भन्ने गलत आक्षेप लगाउने प्रचलन भएकाले पनि महिलाहरुले सुरक्षित गर्भपतन सेवा सहजै लिन सकिरहेका छैनन् । जिल्लमा विभिन्न चारवटा पालिकाहरुमा भने सुरक्षित गर्भ पतनका बारेमा विभिन्न सार्वजनिक सुनुवाई, पालिकामा काम गर्ने चिकित्सकहरुलाई तालिम, आर्थिक तथा विभिन्न स्वास्थ्य सामाग्रीहरु सहयोग, समाजमा गएर सुरक्षित गर्भपतनका बारेमा पैरवि, छलफल, बहर गर्ने भएकाले सुरक्षित गर्भपतनका बारेमा नकरात्मक धारणा रहेको छैन ।

रोल्पामा सुचिकृत स्वास्थ्य सस्थाहरु र सुचिकृत स्वास्थ्यकर्मीहरु थपिदै गएका कारण पनि सुरक्षित गर्भपतन सेवा सजह बन्दै गएको हो । गत वर्ष माडि गाउँपालिकामा घर्तीगाउँ स्वास्थ्य चौकीबाट मात्र सुरक्षित गर्भपतन सेवा दिइदै आएको थियो भने यसै आर्थिक वर्षदेखि तालाबाङ स्वास्थ्य चौकी र भाबाङ स्वास्थ्य चौकी गरि ३ वटा स्थानबाट सुरक्षित गर्भपतन सेवा दिइदै आएको माडि गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक इश्वरीप्रसाद गौतमले जानकारी दिनु भएको छ । लुग्री गाउँपालिकामा बडाचौर स्वास्थ्य चौकीबाट मात्र सेवा दिइदै आएकोमा यसै आर्थिक वर्षबाट सिर्प स्वास्थ्य चौकी र गुम्भाल स्वास्थ्य चौकी गरि ३ वटा स्वास्थ्य चौकीबाट सुरक्षित गर्भपतन सेवा दिइरहेको वडाचौर स्वास्थ्य चौकीका सुचिकृत स्वास्थ्यकर्मी सुनिता रोकाक्षेत्रीले जानकारी दिनु भएको छ । थबाङ गाउँपालिकामा जलजला अस्पताल तथा अनुसन्धान केन्द्रबाट सुरक्षित गर्भपतन सेवा दिइदै आएकोमा यहि आर्थिक वर्षबाट उवा स्वास्थ्य चौकी र मिरुल स्वास्थ्य चौकीबाट पनि सुरक्षित गर्भपतन सेवा दिइरहेको थबाङ गाउँपालिका स्वास्थ्य संयोजक तुलबहादुर पुनले जानकारी दिनु भएको छ ।

रोल्पा जिल्ला भित्रका लुग्री, माडि, रुन्टिगढी र थबाङ गाउँपालिका भित्रका स्वास्थ्यकर्मीहरुलाई सुरक्षित गर्भपतन सेवाका लागि तालिम दिन पास नेपाल र आइपास नेपालले सहयोग गरेका छन । यसले गर्दा पनि सुरक्षित भर्गपतन सेवा रोल्पामा सहज बन्दै गएको छ । लुग्री गाउँपालिकामा सुरक्षित गर्भपतन सेवा लिनेहरुको ३ वर्षको तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०७६–०७७ मा ७५ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन । आर्थिक वर्ष २०७७–०७८ मा ७० जनाले यो सेवा लिए भने आर्थिक वर्ष २०७८–०७९ मा १ सय जनाले सुरक्षित गर्भपतन सेवा लिएमा वडाचौर स्वास्थ्य चौकीका सुरक्षित गर्भपनत सेवा दिनका लागि सुचिकृत हुनुभएका स्वास्थ्यकर्मी सुनिता रोकाक्षेत्रीले जानकारी दिनु भएको छ । गत आर्थिक बर्ष भन्दा यो आर्थिक वर्षमा पालिकाको ३ वटा स्वास्थ्य सस्थाहरुबाट सुरक्षित गर्भपतन सेवा दिएकाले आर्थिक वर्ष २०७९–०८० मा सुरक्षित गर्भपतन सेवा लिनेको सख्या उल्लेख्य बढ्ने स्वास्थ्यकर्मी रोकाक्षेत्रीको भनाई छ ।

के हो सुरक्षित गर्भपतन
गर्भपतन भन्नाले महिनावारी भएको दिनबाट गणना गर्दा २८ हप्ता भन्दा पहिले गर्भमा भएका भ्रुण, विकसित भ्रुण अथवा शिशु बाहिर निस्कने प्रकृयालाई बुझिन्छ । जुनसुकै गर्भावस्थाको गणना गर्दा महिनावारी भएको पहिलो दिनबाट गणना गरिन्छ । उक्त दिनबाट २८० दिन वा ४० हप्ता वा ९ महिना ७ दिन पुगेपछि गर्भावस्था पूर्ण हुन्छ । विकसित देशहरूमा भने विभिन्न आधुनिक उपकरणको प्रयोग गरी बचाउन सकिने हुनाले २८ हप्ता अघिको १०० ग्राम तौलको शिशु बाहिरिएमा मात्र गर्भपतन भनिन्छ । सुरक्षीत गर्भपतन महिलाहरूको प्रजनन अधिकार हो। असुरक्षित गर्भपतन रोक्नु हाम्रो दाहित्व हो।

नेपालमा सुरक्षित गर्भपतन सेवा प्रकृया २०६०ले १२ हप्तासम्मको गर्भ गर्भवती महिलाको मञ्जुरीमा पतन गर्न कानुनले मान्यता दिएको छ। उता जब्जस्ति करणि र हाडनाता भएको अवस्थामा १८ हप्तासम्मको गर्भ फाल्न पाइने व्यबस्था छ। लिङ्ग पहिचान गरेर, गर्भवती महिलाको सहमतिविना र १२ हप्ताभन्दा वढिको गर्भपतन गराउन कानुनले बन्देज लगाएको छ। अप्ठ्यारो परिस्थितिमा विशेषज्ञ र अनुमति प्राप्त चिकित्सकले मात्र १८ हप्तासम्मको गर्भ फाल्न पाउने व्यबस्था रहेको छ।

गर्भपतन हुने अवस्था

  •  वंशाणुगत विकृति तथा गर्भवति महिलामा क्रोमोजोमको विकृति रहेछ भने गर्भपतन हुन सक्छ ।
  •  पाठेघरको विकृति भएका पनि गर्भपतन हुनसक्छ, जस्तैः अति सानो पाठेघर हुनु, पाठेघरको मुख खुकुलो हुनु आदि
  •  पाठेघरको संक्रमण जस्तैः साइटो मेगालो भाइरस, सिफिलिस, रुबेला, हर्पिस जस्ता रोगहरूको कारणले पनि गर्भपतन हुने गर्दछ ।
  •  कुनै कुनै महिलामा केही पुरुषको बिर्य ग्रहण नगर्ने समस्या हुन्छ । प्राकृतिक रूपमा देखापर्ने यो समस्याका कारण पाठेघरले भ्रूण बाहिर फ्यालिदिन्छ ।
  •  हर्मनको गडबडी जस्तैः मधुमेह, थाइराइड, गलगाँड, ओभरी, अण्डाशय, साल आदिले अनियमित ढङ्गले हर्मन निकालेमा पनि गर्भपतन हुने सम्भावना हुन्छ ।
  •  इडियोप्याथिक कारणले पनि गर्भपतन हुनसक्छ ।
  •  गर्भवति अवस्थामा गह्रौ भारी उचाल्नु

असुरक्षित गर्भपतन
निम्नलिखित अवस्थामा गरिएको गर्भपतनलाई असुरक्षित गर्भपतन भनिन्छ।

  • १२ हप्ता भन्दा बढि भएको गर्भ
  •  गर्भपतन गर्न आवस्यक तालिम नलिएका स्वास्थ्यकर्मी वा गर्भपतन गर्ने अनुमति प्राप्त नगरेका व्यक्तिबाट गरिइको गर्भपतन
  •  स्तरिय सेवा प्रदान गर्न आवस्यक पर्ने न्यूनतम सुविधा नभइका र अनुमति प्राप्त नगरेका सरकारी, निजि तथा गैरसरकारी स्वास्थ्य संस्थामा गरिइको गर्भपतन
  •  ज्यानलाई जोखिम हुनेगरि कुनै खाएर वा प्रयोग गरेर गरिएको गर्भपतन

असुरक्षित गर्भपतन गराउदा रक्तश्राप हुने, पाठेघरमा घाँउ हुने, पाठेघरमा क्यान्सर हुने, तल्लो पेट दुख्ने समस्या आउने, गर्भ पुर्ण रुपमा पतन नहुदा रगत बगिरहने, टाउको दुख्ने, ज्वरो आउने, गर्भ नरहने, विकलाङ्ग बच्चा जन्मीने लगाएतका समस्याहरु देखिन सक्छन ।
सुरक्षित गर्भपतन सेवा महिलाहरुको प्रजनन् अधिकार भएकाले नेपाल सरकारले विभिन्न स्वास्थ्य सस्थाहरुलाई सुचिकृत गरि सुचिकृत स्वास्थ्यकर्मीहरु पनि उपलब्ध गराएको छ । कुनै कारण बस गर्भपतन गर्नु परेको महिलाहरुलाई दिएको अधिकारको सदुपयोग गर्न सुचिकृत स्वास्थ्य चौकीमा सुचिकृत स्वास्थ्यकर्मी बाट पनि सुरक्षित गर्भपतन सेवा लिइ आफ्नो अधिकारको प्रयोग गर्नुका साथै सुरक्षित जिवन जिउन सकिन्छ र अनिश्चित गर्भ सहनबाट पनि जोगिन सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array