Ad image

यौन तथा प्रजनन् स्वास्थ्य प्रति सचेत बन्दै रोल्पाका महिला

मालश्री खबर
मालश्री खबर २४ मंसिर २०७९, शनिबार
8 Min Read
Aa

गणेश केसी

मालश्री खबर /मंसिर २४, रोल्पा ।

रोल्पाका महिलाहरु यौन तथा प्रजनन् स्वास्थ्य प्रति सचेत बन्दै जान थालेका छन । जिल्लामा कृयाशिल विभिन्न संघ सस्था, सरकारी तथा गैरसरकारी कार्यालय, विभिन्न पालिकामा रहेका स्वास्थ्य शाखाहरु र विद्यालयका किशोर किशोरीहरुलाई यसको बारेमा शिक्षा दिन थाले पछि उनिहरु सचेत बन्न थालेका हुन् ।

पास नेपाल रोल्पा, आइपास नेपाल रोल्पा, स्वास्थ्य कार्यालय रोल्पा, विभिन्न पालिकाका स्वास्थ्य शाखाहरुले यौन शिक्ष र महिलाहरुको प्रजनन् स्वास्थ्यका बारेमा जनचेतना मुलका कार्यक्रमहरु गरिरहेका छन । पास नेपाल रोल्पाले रोल्पा जिल्लाको थबाङ, रुन्टिगढी, लुग्री र माडि गाउँपालिकामा यौन तथा प्रजनन् स्वास्थ्य अधिकार, यौन तथा प्रजनन् स्वास्थ्य सेवा, सुरक्षित गर्भपतन सेवा, लैगिक हिसा, पारिवारीक योजनाका साधनहरु लगाएतका बारेमा निरन्तर विभिन्न कार्यक्रमहरु गरिरहेको छ । समाजमै गएर किशोरीहरुलाई यौन तथा प्रजनन् अधिकार, यौन तथा प्रजनन् स्वास्थ्य सेवा, यौन तथा प्रजनन् शिक्षा सम्बन्धि अभिमुखिकरण, तालिम, गोष्ठि लगाएतका कार्यक्रमहरु संचालन गर्दै आएको छ । आफ्नो कार्य क्षेत्र भित्र र बाहिरका किशोर किशोरीहरुलाई लक्षित गरेर उसले जागरण मुलक रेडियो कार्यक्रम मेरो स्वास्थ्य मेरो अधिकार पनि संचालन गरेको छ । यसले गर्दा विद्यालय क्षेत्रका किशोरीहरु, प्रजनन् क्षेमता विकाश भएका महिलाहरुलाई राम्रो सहयोग पुगेको पास नेपाल रोल्पाकी कार्यक्रम संयोजक ममता केसीले बताउनु भयो ।

- Advertisement -
Ad image

यसो त विद्यालय उमेरका किशोर, किशोरीहरुलाई लक्षित गरेर विद्यालयमा यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा पठन–पाठन हुने गरेको छ । विद्यालय उमेतरका किशोरीहरुमा प्रजनन् क्षमताको विकाश हुन सुरु हुने उमेर देखि उनिहरुको प्रजनन् क्षमताको विकाश पनि विद्यालयमै हुन्छ । १२–१३ वर्षको उमेरबाट महिनावारी सुरु हुने किशोरीहरुको यहि उमेर बाटै स्तन बढ्ने, बिपरित लिङ् प्रति आकर्षित हुने देखि लिएर उनिहरुको यौनाङ्गको विकाश हुदै गइरहेको हुन्छ । यहि समयमा उनिहरुलाई यौन शिक्षाको अभाव भएमा गलत बुझाइ हुने, त्रास पैदा हुने, खानपान तथा सरसफाइमा ध्यान दिन नसक्दा विभिन्न रोगहरु लाग्ने, शरिरीक रुग्नता हुने जस्ता समस्याहरु देखिन सक्छन् ।
किशोरीहरुमा यौन तथा प्रजनन् स्वाास्थ्यका बारेमा समयमै जानकारी मिलोस भन्नका लागि पाठ्यक्रममा भएको भन्दा धेरै कुरा आफुहरुले विद्यार्थीहरुलाई सिकाइरहेको माडिगाउँपालिका वडा नं. २ घर्तीगाउँमा रहेको कृष्ण मावि घर्तीगाउँका स्वास्थ्य तथा जनसंख्या विषयका शिक्षक बेदलाल वलीले बताउनु भयो । पाठ्यक्रममा किशोरीहरुको महिनावारीको समयमा ध्यान दिनु पर्ने कुरादेखि लिएर शरिरक सम्पर्क, गर्भधारण, मातृशिशु स्याहार, सुरक्षित गर्भपतन, परिवार योजनाका साधन लगाएतका बारेमा पनि पठन–पाठन गरिरहेको शिक्षक वलीले बताउनु भयो ।
विद्यालयमा कक्षा १० को स्वास्थ्य तथा जनसंख्या विषयमा समावेश भएको यौन तथा प्रजनन् शिक्षाका बारेमा पठन–पाठन गर्दा विद्यार्थीहरुले खुलेर अध्यक्ष गरिरहेको उहाको अनुभव छ । केही वर्ष पहिले यो विषयमा पठन–पाठन हुँदा शिक्षक तथा विद्यार्थीहरु लजाउने, विषय वस्तुले भन्न खोजेका कुराहरु शिक्षकले राम्रो संग नबुझाउने तथा विद्यार्थीहरुले सुन्न मन गर्दैनथे तर अहिले विद्यार्थी तथा शिक्षकहरु दुबैले सकृयताका साथ कुनै संकोज, लाज विना अध्यन, अध्यापन भएरहेको शिक्षक वलीको भनाई छ ।

विद्यालयको पाठ्यक्रममा भएको बाहेक यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा ब्यवहारीक ज्ञानहरु आफुहरुले पालिका भित्र रहेका माविका विद्यार्थीहरुलाई शिक्षित गराइरहेको लुग्री गाउँपालिका स्वास्थ्य शाखाका संयोजक लेपेन्द्र बुढाथोकीले बताउनु भएको छ । यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा शिक्षकहरुले बुझाउन नसकेका वा विद्यार्थीहरुले सजिलै बुझ्न नसकेका कुराहरुलाई विद्यालयसंग केही समय मागेर पालिका भित्रका स्वास्थ्य कर्मीहरुले कलास दिने गरेका बुढाथोकीको भनाई छ । उमेर वढ्दै जादा किशोर तथा किशोरीहरुमा आउने शारिरीक परिवर्तन, ध्यान दिनु पर्ने कुराहरु, स्वस्थ आनिबानी, यौनका बारेमा विभिन्न जिज्ञासा तथा समस्याहरुलाई समाधान गर्ने प्रयास गरेको उहाले बताउनु भएको छ । यस बाट विद्यार्थीहरुमा यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा भएका जिज्ञासा, खुल्दुली, समस्याको उठान गरि समाधान हुने गरेको उहाको अनुभव रहेको छ ।

पहिलो महिनावारी

पहिलो पटक महिनावारी सुरु हुने उमेर, प्रत्येक महिनाको महिनावारीबिचको अन्तर र महिनावारी बन्द हुने समय प्रत्येक महिलामा फरक फरक हुन्छ । धेरैजसो युवतीहरूमा पहिलो महिनावारी १२ देखि १४ वर्षको उमेरमा हुन्छ तर कुनै कुनै युवतीहरूमा छिटो ९ वर्षको उमेरमा नै र कुनै कुनैमा ढिलो १६ वर्षको उमेरमा महिनावारी भएको पनि पाइएको छ । यदि कुनै युवतीको पहिलो महिनावारी १६ वर्षमा मात्र भएको छ भने पनि यसलाई सामान्य नै मान्न सकिन्छ तर यदि महिनावारी हुनु पर्ने सामान्य वर्षभन्दा ढिला भएमा डाक्टर वा स्वास्थ्यकर्मीसंग सल्लाह सुझाब सहित उपचार सेवा लिन सकिन्छ । पहिलो पहिनावारी हुने समय भन्दा पहिले नै आफ्ना अभिभावक, आमा, दिदी, फुपु लगाएतले किशोरीहरुलाई यसको बारेमा सम्पुर्ण कुरा जानकारी दिनु पर्छ ।

महिनावारी भएको बेला ध्यान दिनुपर्ने कुराहरु
महिनावारी हुँदा व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने हुन्छ। सरसफाइमा ध्यान दिइएन भने गन्हाउने सेतो पानी बग्ने, योनी चिलाउने, पिसाब पोल्ने तथा संक्रमण हुन सक्छ। सफाइको कमीले यौनांगमा घाउ भई हिँड्न गाह्रो हुन्छ। यौनांग सफा पानीले धुुनुपर्छ। रगत लागेको छ भने मनतातो पानीले धुुनुपर्छ। यो बेलामा पानीमा फिट्किरी हालेर पनि यौनांग सफा गर्न सकिन्छ। नुहाएर सफा बन्नुपर्छ।

महिनावारी भएको बेला शरीरबाट रगत बग्छ। शरीर कमजोर महशुस हुन्छ। शरीरलाई बलियो बनाउन पौष्टिक खाना, सागसब्जी, तरकारी, फलफूल दुध, दही, गेडागुडी, प्रशस्त मात्रामा खानुपर्छ। टुसा उमारेको गेडागुडी, चाकु, फलामको भाँडामा पकाएको दाल गहत आदिको प्रयोगले शरीर स्वस्थ्य बनाउँछ ।यसले रक्त अल्पताबाट पनि बचाउँछ।

महिनावारी हुँदा नरम सुतीको कपडाको टुक्रा वा स्यानेटेरी प्याड प्रयोग गरेर सजिलै र सफासँग व्यवस्थापन गर्न सकिन्छ । त्यसबाहेक अहिले मेन्सट्रुयल कप र टेम्पोन पनि बजारमा पाइन्छन्। महिनावारी हँदा कसैकसैलाई तल्लो पेट दुख्ने, स्तन दुख्ने, ढाड दुख्ने,हात खुट्टा करकर खाने, कसैलाई बेचैन, तनाव हुने , टाउको दुख्ने पनि हुन्छ।

सामान्य अवस्थामा ४ देखि ७ दिनसम्म रगत बग्नु समान्य हो तर कसैलाई १० देखि १५ दिनसम्म रगत बगिरहने भयो भने उपचार गराउनु पर्छ। यदि हरेक २– २ घण्टामा प्याड फेर्नु पर्ने अवस्था आयो भने त्यसलाई धेरै रगत बगेको मानिन्छ । यस्ता समस्या देखिएमा चिकित्सकसंग सल्लाह माग्नु पर्छ ।

परिवार योजना र साधनाहरु
किशोरीहरुको महिनावारी सुरु भएदेखि गर्भवती हुन सक्षम हुन्छीन । कति बच्चा जन्माउने, जन्मान्तर कति राख्ने भन्ने बारेमा योजना बनाउनु परिवार योजना हो । परिवार योजनालाई साकार पार्नका लागि परिवार योजनाका साधनहरु प्रयोग गर्नु पर्छ । परिवार योजनाका साधनहरु प्रयोग गरेमा असुरक्षित गर्भबाट रहन बाट बच्नुका साथै यौन रोग बाट पनि बच्न सकिन्छ ।

परिवार योजनाका साधनहरु स्थायी र अस्थाई गरि दुइ खालका हुन्छन । अस्थायी भन्नाले लामो समय सम्म प्रयोग गर्ने साधनलाई बुझिन्छ । जस्तै ः पुरुष कण्डम, महिला कण्डम, कपर–टी, खाने चक्कि, लगाउने सुइहरु (डिपोप्रभेरा), इम्प्लान्ट आदी लगाउन सकिन्छ । सन्तानका रहर पुगेकाहरुले स्थायी परिवार योजनाका साधनहरु प्रयोग गर्न सकिन्छ । जस्तै ः भ्यासेक्टोमी, मिनिल्याप आदी । अनिश्चित रुपमा गर्भ रहन गएमा, हाडनाता करणी, विकलाङ्ग बच्चा जन्मन सक्ने, आमा र वच्चा दुबैको जिवन खतरा हुने भएमा सुरक्षित रुपमा गर्भपतन पनि गराउन सकिन्छ । तर यसलाई नियमित परिवार योजनाको साधनको रुपमा भने प्रयोग गर्नु हुदैन । यसो गर्दा महिलाको स्वास्थ्यमा नकरात्मक असर पर्न सक्ने चिकित्सकहरुले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

Array